• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीले ‘अखण्ड भारत’ को नयाँ नक्सा सच्याउन भन्न सक्नुपर्छ: केपी ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्शा (मुरल) राख्नु उचित नभएको बताउनु भएको छ ।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कुपिलबस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको प्रतिक्रिया थियो । अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पार्नु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्शा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताउनु भयो । भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले आईराख्या छ नि । लुम्विनी, कपिलवस्तु भारतको नक्शामा पारेर संसद भवनमा काठमा कुँदेर संसदले राख्यो भने पछि यो भन्दा सानो छिमेकीलाई मैले देखेको छैन । सुनेको छु । भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्‍यो भने अथवा त्यो हटायो भने वा गल्ती महशुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ । तर नेपालको भूमि आफ्नो नक्शा भित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन । प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्शा हटाउनुस् । त्यो गल्ती सच्याउनुस भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’

अध्यक्ष ओलीले शक्ति राष्ट्रहरुले बलमिच्याई गरिरहेकाले कमजोर मुलुकहरुले न्यायको खोजी गरिरहनु परेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।