१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

फेरियो रुम गाउँको मुहार

फेरियो रुम गाउँको मुहार
अ अ+ अ-

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो ।

विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उहाँले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्नु हुन्न । चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दु:ख चाहेर पनि भुल्न सक्नुहुन्न ।

दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा विक दङ्ग हुनुहुन्छ । विकमात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधार पुुगेपछि यहाँका बासिन्दाको खुसीको सीमा नै छैन ।

सडक बनेर गाडीमार्फत बुटवल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्तपार गरेका यहाँका वृद्धवृद्धाले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसियाली छाएको हो ।

“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुलीबत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ”, रुमबेलीका मेखबहादुर पुनले भन्नुभयो, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अली तल जानुपर्‍यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, धेरै टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई/चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।”

जिल्ला सदरमुकाम बेनीबजार आवतजावत गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दु:ख पाएको पुन सुनाउनुहुन्छ । “कागजपत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बेनीपुग्दा दुई दिन, फर्किंदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गथ्यो, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन धेरै समस्या हुन्थ्यो”, पुनले भन्नुभयो, “अहिले त बिहान सरर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविधा होला भन्ने त कसले सोचेको थियो होला र ?”

अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको पुनले बताउनुभयो । “पहिलेको दु:खलाई सम्झिँदाखेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दु:खलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, पुनले भन्नुभयो, “अहिले त सबथोक छ, के छैन ?, उतिबेला घ्यु बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २०.७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा तीन हजार सात सय तीन जनसङ्ख्या छ । यहाँ मकै, कोदो, गहुँ, जौ, फापर आदिको राम्रो खेती हुन्छ । यस क्षेत्रमा उत्पादन हुने कृषिउपज, स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्‍याएको मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।रासस