१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

नारायणगढ–बुटवल सडक विस्तार: मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नारायणगढ–बुटवल सडक विस्तार: मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय
file photo
अ अ+ अ-

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिनुभयो । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताउनुभयो । “हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्‍यौँ”, उहाँले भन्नुभयो, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उहाँको भनाइ छ । “ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उहाँले भन्नुभयो ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुन:निर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुन: अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताउनुभयो । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उहाँको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ । पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताउनुभयो ।

“अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपिपल रोपेर चौतारी बनाउने चलन थियो”, उहाँले भन्नुभयो, “विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपिपल पनि हराउँदै गए ।” रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपिपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताउनुभयो । “सहरीकरणका कारण ठूला–ठूला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपिपलका रुख नरोपिनु, नहुर्काइनु राम्रो होइन”, उहाँले भन्नुभयो, “चौतारी भत्काइनु, पोखरी पुरिने ढुङ्गेधारा कुवाजस्ता जलस्रोतको संरक्षण नगरिनु बडो चिन्ताको विषय हो ।”

हाम्रो पुरातन चौतारी, पोखरी तथा देउरालीको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा भण्डारीले जोड दिनुभयो । परिवर्तनको सङ्घारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उहाँको भनाइ छ । रासस