• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   बागमती, गण्डकी र कर्णालीमा आज हल्का पानी पर्ने ★   भारतमा पहिलो चरणमा १ सय २ लोकसभा सदस्यका लागि आज चुनाव ★   एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईको सामना गर्दै नेपाल ★   सांसदले हडपेको स्काउटको जग्गामा प्रशासनको शिलबन्दी ★   बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा… ★   मुम्बईले पञ्जाबलाई ९ रनले हरायो ★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा

आईपीएल उपाधिका लागि चेन्नई र गुजरात प्रतिस्पर्धामा



एजेन्सी । झण्डै दुई महिना चलेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो ।

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगितामा प्रवेश गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ जित र पाँचमा हार बेहोरेको छ ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटल हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

चेन्नईका लागि धोनीको सबैभन्दा ठूलो चुनौती तीन शतक र ८५१ रन बनाएका शुभमन गिलको ब्याटमा अंकुश लगाउनु हुनेछ । साथै मोहम्मद शामी (२८ विकेट), राशिद खान (२७ विकेट) र मोहित शर्मा (२४ विकेट)ले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् । गिल बाहेक पाण्ड्याले पनि ब्याटिङमा ३२५ रन बनाएका छन् ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बई (पाँच उपाधि) पछि सबैभन्दा बढी चार पटक उपाधि जितेको छ । १४ सिजन मध्ये१२ पटक प्लेअफ पुगेको चेन्नई १० औं पटक फाइनल खेल्दैछ ।

चेन्नईले यो सिजन हालसम्म खेलेका १५ खेल (लिग चरण र प्लेअफ) मध्ये ९ जित र पाँचमा हार बेहोरेको छ । साथै एक खेल वर्षाका कारण रद्द भएको थियो । गुजरातविरुद्ध डेभन कोनवे, मोइन अली, महिश तीक्षाना र मथिशा पथिराना टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् ।

यस सिजन चेन्नईका लागि कोनवेले १३ खेलमा ६२५ रन, ऋतुराज गायकवाडले ५६४ रन र अजिंक्य रहाणेले २९९ रन बनाएका छन् भने शिवम दुबेले ३८६ रन बनाएका छन् । यस आईपीएलमा दुबेले ३३ छक्का प्रहार गरेका छन् । बलिङमा पथिरानाले १७ र देशपाण्डेले २१ विकेट लिएका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । चेन्नईको एमए चिदम्बरम स्टेडियमभन्दा यहाँ बिल्कुल उल्टो वातावरण हुनेछ । यदि फास्ट बलरहरूको लागि गति र बाउन्स हुन्छ भने, आउटफिल्ड पनि छिटो हुनेछ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यो सिजन नरेन्द्र मोदी मैदानमा कुल आठ खेल खेलिएका छन्, जसमा गुजरातले पाँच जित र तीन हार बेहोरेको छ । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले पाँच पटक जितेको छ भने पछ्याउने टोलीले तीन पटक जितेको छ । यस मैदानमा गुजरात र चेन्नईबीच एउटा मात्र खेल भएको छ, जसमा गुजरात विजयी भएको छ ।

आइतबार अहमदाबादमा बादल लाग्नेछ, दिउँसो हावा चल्ने छ । वर्षाको सम्भावना छैन । तापक्रम २७ देखि ३९ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्स: हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), डेभिड मिलर, राहुल तेवाटिया, विजय शंकर, राशिद खान, नूर अहमद, मोहम्मद शामी, मोहित शर्मा र जोशुआ लिटल ।

इम्प्याक्ट प्लेयर्स: साई सुदर्शन, श्रीकर भरत, ओडियन स्मिथ, आर साई किशोर र शिवम मावी ।

चेन्नई सुपर किंग्स: महेन्द्र सिंह धोनी (कप्तान र विकेटकिपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, दीपक चाहर, महिश तीक्षाना, मथिशा पथिराना र तुषार देशपाण्डे ।

इम्प्याक्ट प्लेयर्स: अम्बाती रायडु, मिचेल सान्टनर, एस सेनापति, शेख राशिद र आकाश सिंह ।