२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : डिफेन्डिङ च्याम्पियन स्वाइटेक पराजित



अ+ अ-

पेरिसः यस वर्षको फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फ गत वर्षकी फ्रेन्च ओपन विजेता पोल्यान्डकी इगा स्वाइटेक पराजित भएकी छिन् । उनलाई ग्रीसकी १७ औं वरियताकी मारिया सक्कारीले ६–४, ६–४ ले पराजित गरिन् ।

यो जितसँगै सक्कारी सेमिफाइनलमा प्रवेश गरेकी छिन् । दुबै सेटमा खासै राम्रो गर्न नसकेकी स्वाइटेकले तिघ्रामा समस्या आएपछि केहीबेर “मेडिकल टाइमआउट” पनि लिएकी थिइन् । निकै फर्ममा देखिएको सक्कारीले उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन् ।

महिला एकल तर्फको अर्को खेलमा अमेरिकी अश्वेत किशोरी कोको गफ पनि पराजित भइन् । खेल जित्ने धेरैवटा मौका पाए पनि गफले त्यसलाई खेर फालेकी थिइन् ।
उनी चेकोस्लाभियाकी बारबोरा क्रेजिकोभासँग ७–६, ६–३ ले पराजित भएकी थिइन् ।

महिलातर्फ पहिलो सेमिफाइनल खेल अनास्तासिया पाभ्लुचेन्कोभा र टमारा जिदान्सेकबीच बिहीबार हुनेछ ।

यसैबीच, पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास र जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएका खेलमा चिचिपासले विश्व नं. २ खेलाडी डानी मेडभेडेभलाई ६–३, ७–६, ७–५ को सेटमा पराजित गरेका थिए भने झेरेभले स्पेनी खेलाडी डाभिडोभिच फोकिनालाई ६–४, ६–१, ६–१ को सेटमा पराजित गरे ।

अब सेमिफाइनलमा चिचिपास र झेरेभबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुष एकलतर्फ बुधबार दुई वटा क्वार्टरफाइनल खेल हुँदैछन् । पहिलो खेल राफेल नाडाल र अर्जेन्टिनी खेलाडी डिएगो स्वार्जम्यानबीच हुँदैछ भने दोस्रो खेल विश्व नं. १ नोभाक जोकोभिच र म्याटिओ बेरेटिनीबीच हुनेछ । एजेन्सी
––