२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै



अ+ अ-

जनकपुरधाम । मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइ रहेका छन् । यो पर्व मनाउन महिलाहरु बिहानैदेखि चोखो भएर नववस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् ।

जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । पण्डित लालबाबु झाका अनुसार धार्मिकग्रन्थ स्कन्दपुराणमा उल्लेख गरिए अनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

अर्को धार्मिक मान्यतानुसार सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनि नै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुख मुनि बसेर सो पर्व मनाउने गरिन्छ ।

यस पर्वमा बाँसबाट बनाइएका नयाँ हाते पङ्खा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ । यस पर्वको अवसरमा जनकपुरधामको प्रसिद्ध रामन्दिर परिसरका साथैै पीडरीयामाई स्थान, विश्वकर्मा चोक लगायत विभिन्न टोलटोलमा रहेका बरका रुखमुनि वटसावित्रीको पूजा भइरहेको छ ।

मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । रिंकु गायत्री मिश्रले यो पर्व मनाउन बेहुलीलाई माइतीबाट नयाँ वस्त्र, मिठाई, बाँसको पंखा, टोकरी लगायतका सामग्री कोसेलीका रुपमा पठाउने चलन रहेको बताउनुभयो ।  

क्षीरेश्वरनाथ नगरपालिकाका पुरोहित इन्द्रकान्त झाले गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास रहेको बताउनुभयो । रासस