काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिवेदन सार्वजनिक नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।
“हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन। सिंहदरबारसँग हो। प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ। दोहोर्याएर फैसला हुँदैन”, पार्टीका नेता लक्ष्मण चौधरीले भन्नुभयो।
चौधरीले लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने बताउनुभयो ।
उहाँले टीकापुर घटनामा दोषी ठहर भई जन्म कैदको सजाय काटिरहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै आजदेखि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो ।
उहाँले तीन दिनभित्र आयोगको प्रतिवेदन सार्वजनिक नगरिए जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको आयोजना गर्ने पनि चेतावनी दिनुभयो।