९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि…

मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि…
अ अ+ अ-

रुपन्देही । सफा र चौडा सडक !  सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ । तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो ।

बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्छ । आफ्नो क्षेत्रभित्र पर्ने छ लेन सडकको सरसफाइ र सुन्दरतारामा तिलोत्तमा नगरपालिकाले अग्रसरता लिएपछि यो सडक नेपालकै नमूना सडक बनेको छ ।

उद्योगपति विनोद चौधरीले दुई वर्षअघि यस सडकको यात्रा गर्ने क्रममा ‘आफू बुटवल भैरहवा सडकमा यात्रा गरिरहेको तर युरोप पुगेको अनुभूति भएको’ भन्दै सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेपछि यो सडकको चर्चा चुलिएको हो । उहाँले गरेको यो प्रशंसापछि तिलोत्तमा नगरपाालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले सडकको सरसफाइ र हरियाली प्रवद्र्धनका लागि छुट्टै कार्यक्रम बनाएर लागू गर्नुभएको थियो । सोही कार्यक्रमलाई हालका नगरप्रमुख रामकृष्ण खाणले पनि थप परिस्कृत गर्दै निरन्तरता दिनुभएको छ ।

नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर बिजुली बत्ती राखिएको छ । लहरै राखिएका झलमल्ल बत्तीले रातिमा उज्यालो देखिन्छ । चोक–चोकमा सार्वजनिक शौचालय राखिएको छ । शौचालय सफा छन् । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी नगर त्यत्तिकै चिटिक्क देखिएको होइन, यसका लागि २०७४ सालबाट हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा रहेको बताउनुभयो । “कोरोना महामारीको समयमा एक–दुई महिना यो अभियान सञ्चालनमा समस्या भयो होइन भने निरन्तर सञ्चालनमा छ”, उहाँ भन्नुभयो ।

अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको उपप्रमुख चौधरी बताउनुभयो । वडा कार्यालय र टोल विकास संस्थासमेतले नियमित सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन् । तिलोत्तमाका १७ वडामा एक सय ९९ टोल विकास संस्था छन् ।

नगरपालिकाले अघि सारेको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानलाई स्थानीयले पनि साथ दिएका छन् । जसले गर्दा नगरका भित्री सडक पनि सफा छन् । ड्राइभरटोलकी लक्ष्मी खनाल भन्नुभयो, “ मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि सबैलाई निस्कन कर लाग्दोरहेछ । अहिले अरु नगरपालिकाभन्दा हाम्रो ठाउँ धेरै सफा भए भएको छ ।”

निरन्तर सरसफाइ अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वानसमेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ ।

नगरपालिकाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालका अनुसार हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइका लागि हरेक वर्ष रु दुई करोड बजेट विनियोजन हुने गरेको छ । नगरको नियमित सरसफाइका लागि ४४ जना सफाइकर्मी परिचालन गरिएको छ । प्रत्येक वडामा दुई–दुई जनाका दरले कर्मचारी खटाइएको खनाल बताउनुहुन्छ ।

नगर सफाइमा ख्याति कमाएको तिलोत्तमाले त्यसलाई दिगो राख्न र नगरवासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ । २०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । यसले पनि नगरलाई चिटिक्क राख्न बल मिलेको स्थानीय अगुवा लोकनाथ ज्ञवाली बताउनुहुन्छ ।

नगर सफा र स्वच्छ राख्न नगरपालिकाले गत वर्षको चैतदेखि गुट्खाजन्य पदार्थको बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ । यसको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नगरवासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ । नगरलाई अझै सफा र चिटिक्क बनाउन नगरपालिकाले ‘ग्रिन तिलोत्तमा: क्लिन तिलोत्तमा’को अभियान पनि चलाएको छ । विद्यालयस्तरमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको छ ।

फोहर जथाभावी फाल्नु हुँदैन भन्ने कुरा विद्यालयमै सिकाइएको हो । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्ती: मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेट: माई फस्ट डस्टबिन’ समावेश गरिएको छ । जसले गर्दा विद्यार्थीले पनि यत्रतत्र फोहर फाल्दैनन् । फाल्नै परे आफ्नै खल्तीमा राख्ने र डस्बिन भएको ठाउँमा फाल्ने बानीले विद्यालय तथा सार्वजनिक स्थान पनि सफा र चिटिक्क छन् ।

सात सय ५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका हो । विसं २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाइउन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै यसलाई दिगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेट: माई फस्ट डस्टबिन’ समावेश गरिएको हो । रासस