२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र न्यायालयको वर्तमान बहस र गोपाल पराजुलीका संयोगका पानाहरु



अ+ अ-

देशमा हाल जारी बन्दाबन्दीको तम्तयारी सरकारले गरिरहेका बेला पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको आत्मबृत्तान्तपरक पुस्तक संयोगका पानाहरुको विमोचन भएको थियो । त्यस समारोहमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले अरु दुई पुस्तकको गुह्य रहस्योद्घाटन गर्नुभएको थियो ।

संयोगका पानाहरुबारे बोल्ने क्रममा उहाँले त्यस विषयप्रवेश गर्नुअघि भन्नुभएको थियो– “म स्कुल पढ्दा गुरुले पृथ्वी घुम्छ भनेर सिकाउनुभएको थियो । तर मलाई विश्वास थिएन । बालो दिमाग न हो, खोइ कसरी घुम्छ होला भन्ने लाग्थ्यो । आफूले आज देखेका सबै चिज भोलि पनि आफ्नै ठाउँमा देख्छु, खोइ घुमेको ? घुम्ने भए त यी पनि अन्यत्रै कतै पुग्थे होला जस्तो लाग्थ्यो । यत्रो पृथ्वी कस्ले घुमाउन सक्ला र ? कसैले यसै भनिदियो होला भन्ने ठान्थेँ र घुम्दैन भन्नेमा ढुक्क थिएँ । तर केही समयअघि मैले एकजना पूर्व मन्त्रीको आत्मवृत्तान्त पढ्न पुगेँ । त्यसपछि बल्ल थाहा पाएँ पृथ्वी घुमाउने मानिस त यहाँ पो रहेछ । अनि नेपालको सुरक्षा निकायका एकजना पूर्वप्रमुखले पनि थोरै थोरै भए पनि पृथ्वी घुमाउन सहयोग गरेका रहेछन् ।

तर यो आत्मवृत्तान्त लेखेर गोपाल पराजुलीजीले यसरी पृथ्वी घुमाउने दुस्साहस गर्नुभएको छैन । पृथ्वी घुमाउनु त के बरु मुलुकको प्रधानन्यायाधीशले नै आफूलाई परेको अन्यायलाई खुलस्त गरेर बाहिर निकाल्न समेत सक्नुभएको छैन ।”

उहाँको यो रहस्योद्घाटनपछि त यो भन्दा पनि पहिले ती दुई पुस्तक पढ्नैपर्ने भयो । किनभने मलाई पनि पृथ्वी घुमाउने मान्छेको बारेमा जान्न मन लाग्यो । पुस्तक चाहिँ उही परेछ– धेरै पन्ना देखेर यसअघि मैले पढ्न छोडेको । पछि पढेँ । नभन्दै ती लेखकले नेपालको मात्र नभएर दक्षिण एसिया, चीन हुँदै अमेरिकासम्मकै पृथ्वी फनफनी घुमाएका रहेछन् । तर ती पात्र र पुस्तकको समीक्षा अहिले यो आलेखको आसय भने होइन । अहिलेको प्रसंग गोपाल पराजुलीका संयोगका पानाहरुको हो र उहाँले त्यसरी पृथ्वी घुमाउने प्रयत्न गर्नुभएको छ, छैन भनेर खोज्नु हो ।       

उहाँका संयोगका पानाहरु त्यस्तो समय पारेर आएका छन् कि यतिबेला नेपालका अखबार (अनलाइनका समेत) पानाहरु स्वतन्त्र न्यायपालिका विषयका समाचारले भरिएका छन् । त्यसो त न्यायपालिकाको स्वतन्त्रताको विषय यसरी अखबारका पन्नाहरुमा छर्पष्ट हुने र नागरिकले खोजी खोजी पढ्नुपर्ने विषय हो । किनभने न्यायालयमा बस्नेलाई न्यायमुर्ती भनिने हुनाले मुर्तीले वस्तु नभएर विवेकले काम गर्छन् भन्ने नै हो । तर अहिले त्यस्तो छैन । लाग्छ, यतिबेला न्यायालयमा उठेका बहस र नागरिक पैरवी सुन्दा अहिले इतिहासमै सबैभन्दा विवादमाछ मुलुकको सर्वाेच्च न्यायलय । 

यसअघि राजनीतिक दलका कोटामा न्यायाधीशहरु नियुक्त भएकाले त्यसको परावर्तन अहिलेको नेपाली समाजमा भएको छ । सामाजिक सञ्जालमा अहिले के विषय उठेको छ भने अब पार्टीका न्यायाधीशहरु भएकाले अबका दिनमा झगडियाहरुले पनि आफ्नो पार्टीको न्यायाधीश खोज्ने दिन आउँदैछ । अब न्यायालयमा झगडियाले मेरो मुद्धा हेर्न मलाई त्यही न्यायाधीश चाहिन्छ भन्ने दिन पनि आउँदैछन्, आदि आदि । 

मुलुकको न्यायालय स्वतन्त्र हुँदो हो त यतिविधि मुखरित हुने थिएन नेपाली समाज । आशा र भरोसाको अन्तिम किल्ला हुनुपर्ने मुलुकको न्यायालयप्रति उठिरहेको यो अति नमिठो प्रश्न हो । अहिले यो पुस्तकको समीक्षाका क्रममा वर्तमानको यो प्रसंग जोड्नुपर्नाको कारण के छ भने यो वातावरण ल्याउन लागिपरेको त्यस समयको न्यायक्षेत्रका सिन्डिकेटहरुको घानमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हालिएको थियो ।

उहाँमाथि मुलुकको सर्वाेच्च न्याय क्षेत्रका मानिसहरु देखिने सारथीका रुपमा मिडियालाई अघि सारेर यसरी खनिएका थिए कि मानौँ पराजुली हटेपछि मात्र यस क्षेत्रमा रामराज्य छाउँछ । तर उनीहरुले गरेको विजारोपणले अहिले सबैभन्दा सम्मानित र सबैभन्दा आलोचनाविहीन हुनुपर्ने निकाय नै सबैभन्दा विवादमा तानिएको छ । यहाँसम्म कि प्रधानन्यायाधीशले इजलास गठनमै यतिविधि आशंकाको ओइरो लागेको छ । यो प्रसंगतिर पनि अहिले त्यति नजाउँ, किनभने न्यायालयको मानहानीको उजुरी पनि मपलाई खेप्नु छैन ।  

नेपाली बजारमा पछिल्ला वर्षहरुमा बडो चल्तीको शब्द छ सिन्डिकेट । यो व्यापार, राजनीति तथा यस्तै अरु पेशातिर त होला तर के मुलुकको सर्वाेच्च न्यायालयमा पनि यस्तो हुन्छ र ? हुन्छ भन्ने जवाफ सुन्दा मानिसलाई बडो अचम्म लाग्न सक्छ । गोपाल पराजुलीले आफ्ना संयोगका पानाहरुमा राखेका कतिपय प्रसंगहरुको गहिराइ नाप्ने हो भने त्यो आश्चर्यको रहस्योद्घाटन राम्रैसँग भएको छ । जीवनभर कानुनी शब्दहरु खेलाउन सिपालु भएर होला उहाँले यी विषयहरुलाई जस्ताको त्यस्तै अर्थात् सीधा भाषामा भने राख्नुभएको छैन ।   

गोपाल पराजुली नेपालमा करिब २८ वर्ष न्याय सेवाममा बिताउनुभएको छ । उहाँ आफ्नो क्षेत्रको सबैभन्दा सर्वाेच्च पद सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निवृत्त हुनुभयो । यसलाई कुनै पनि जागिरे या पेशाकर्मीले सफलताका रुपमा लिनुपर्छ । करिब तीन दशकको न्याय सेवाजस्तो संवेदनशील क्षेत्र र काममा रहेको कुनै व्यक्तिका लागि निष्ठा, समर्पण र इमान्दारिता नहुने हो भने सर्वाेच्च पदमा पुग्नै गाह्रो पर्छ, त्यो निश्चित हो ।

तीन तीन दशकसम्म कुनै व्यक्तिले आफूले सेवा गर्ने नाममा खराब काम गर्यो भने उसले आफ्ना कार्यको सर्वाेच्चता चुम्नै सक्दैन भनेर सामान्य रुपमा पनि विश्लेषण गर्न सकिन्छ । हुनत उहाँलाई अफूले उचाइका खुड्किलाहरु चढ्दै गर्दा पनि षड्यन्त्र एवं असहयोग त भो नै होला तर पनि यो कृतिभित्र छिर्दै जाँदा भने उहाँलाई प्रधानन्यायाधीश भएपछि नै बढी हमला भएको देखिन्छ । अनि थाहा हुन्छ कि देशलाई नै न्याय दिने ओहदामा रहेको एकजना व्यक्ति कति धेरै अन्यायमा परेको रहेछ भन्ने कुरा । अनि कुनै संस्थाको प्रथम व्यक्तिलाई तपाईँ आजदेखि कार्यालय नआउनु होला भन्ने सूचना त्यस कार्यालयको पिएनले दिन्छ र त्यसले मान्यता पाउँछ भने त्यो बेइमानीको हद कतिसम्म होला भन्ने अनुमान गर्ने ? त्यस्तै नियती भेटिन्छ उनीमाथि । 

आफ्नासँग नै कसरी प्रतिशोध लिने, आफ्नैलाई अन्याय कसरी गर्ने भन्ने विषयमा न्यायमूर्तिहरू संलग्न हुनसक्ने तथ्य पनि यो पुस्तकका पानाहरुमा शुक्ष्म रुपमा खोज्यो भने भेटिन्छ । खासमा प्रधानन्यायाधीशहरु बनाउने र रोक्ने जालो बुन्न स्वयं न्यायमुर्तीहरु नै लाग्दारहेछन् । त्यसैले अहिले बाहिरतिर भन्ने गरिएका बिचौलियाको खेल त्यहाँभित्र पनि हुदोरहेछ । सायद त्यसैलाई सेटिङमा पनि भन्ने गरिएको छ अहिले ।

अनेकन पाटाहरू भेटिन्छन् यसका पानैपिच्छे । र ती सबै रोचक छन् अनि हरेक पानाले गम्भीर प्रकृतिका प्रश्नहरु उठाउँदै गएका छन् । यसैले यो पुस्तकलाई नेपालको न्याय क्षेत्रको अनुसन्धान गर्न मिल्ने एक ग्रन्थका रुपमा अध्ययन गर्न र संग्रह गर्न सकिन्छ । 

न्यायालयमा सबैभन्दा बढी फोहोरी राजनीतिक खेल देखिएको र घटना भएको समेत सुशीला कार्कीको कार्यकाल नै हो । न्यायालयमा सायदै हुने र सुनिने विषय उहाँका समयमा घटना भएरै बाहिर आएको छ । उहाँले आफ्ना केही पूर्ववर्ती न्यायाधीशहरूको गलत सुझाबमा बढी विश्वास गरेर पनि हुनसक्छ अवस्था त्यस्तै नै देखियो । यो विषयको चर्चा यहाँ किन गर्नु परिरहेको छ भने गोपाल पराजुलीको प्रधानन्यायाधीशमा नियुक्ति प्रसंग र उहाँका अनुभवहरूसँग सुशीला कार्की पनि एउटा अहं पात्रका रुपमा रहनुभएकै हो ।

उहाँले गलत सुझावहरुलाई आफ्नो मार्गदर्शक बनाउँदा मुलुकका धेरै क्षेत्र र संस्थाहरुमा देखा परेको सिन्डिकेट प्रथाले सीधै मुलुकको सर्वाेच्च न्यायलयमा प्रवेश पाएको हो । यसमा कसैले होइन भन्न सक्ने ठाउँ देखिन्न, यद्यपि स्वयं कार्कीले नै केही समयअघि सार्वजनिक गर्नुभएको आफ्नो पुस्तकको अधिकांश अंश हामीले यहाँ भनेकोजस्तो कुरा होइन भन्नेमा नै खर्च गरेको देखिन्छ । उहाँले जे कुरा होइन भनेर हतार हतार पुस्तक लेखेरै पुष्टि गर्ने प्रयत्न गर्नुभएको छ, त्यसले उहाँको त्यो समयको गलत कार्यलाई छोप्न पर्याप्त छैन । त्यो कुरा गोपाल पराजुलीले आफ्नो जीवनको संयोगमा सर्लक्कै ब्यहोर्नुभएको हो तर यी संयोगका पानाहरुमा खुलेरै खाउनुभएको भने छैन । 

पुस्तक कभर पृष्ठसहित ५५२ पृष्ठमा छ । यो कृतिका पाँच परिच्छेद र परिशिष्टले सीधा अर्थात् पत्रकारिताको भाषामा नभने पनि कानुनी भाषामा भने नेपालको न्यायलयका धेरै कुरा भनेको छ । पुस्तकमा पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको शुभकामना छ र डा.युवराज संग्रौलाको बडो सन्तुलित, वस्तुनिष्ठ र विचारोत्तेजक भूमिका छ । युवाराज संग्रौलाको बोली कलम बाहिर जति बेजोड रहने गर्छ यो कृतिमा पनि कञ्ज्युस्याइँ कतै देखिन्न । यसैले पनि यो कृतिको ओज बढाउन उहाँको कलमले मद्दत पुर्याएको देखिन्छ । 

अन्त्यमा म देशका संवेदनशील निकायका प्रमुखको हैसियतमा रहेर सेवानिवृत्त भएका व्यक्तिले पुस्तक लेख्नु हुदैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ । जस्तो कि सेनाका प्रमुख भएर निवृत्त हुने र पुस्तक लेख्ने, प्रहरीका प्रमुख भएर निवृत्त हुने र पुस्तक लेख्ने, देशको गुप्तचर निकायका प्रमुख समेत निवृत्त भएर पुस्तक लेख्ने गर्यो भने राज्यको गोपनीयता बाहिर त आउँदैन भन्ने प्रश्न मेरो मनमा उठ्छ । देशको न्यायालयको प्रमुख त झन् यी भन्दा धेरै बढी संवेदनशील व्यक्ति हुन् ।

त्यसैले उनले पनि पुस्तक लेख्नुहुदैन भन्ने मेरो मान्यता थियो । तर जुन आशंका र अप्ठेरोले मैले यो मानसिकता राखेको थिएँ, यो पुस्तक पढ्दा त्यो पुष्टि भएन बरु यसले संवेदनशील विषयलाई पनि कसरी सार्वजनिक जानकारीमा ल्याउन सकिन्छ भन्ने कुरा सिक्न सकियो । फेरि यसको मतलब सुशीला कार्कीले पुस्तक लेखेर जुन काम आफ्ना कारण विग्रिएको थियो, त्यो आफूले गरेको होइन अरु कसैले गरेको हो भनेर पंक्तिपिच्छे दिन खोजेको स्पष्टिकरण पनि यो पुस्तकमा भेटिँदैन ।

अनि अर्काे कुरा आफ्नो पारिवारिक पृष्ठभूमि र आफन्तका कुरा राखिएको पुस्तकभित्रै कसरी आफ्नो उच्च व्यावसायिकताका कुरा पनि कसरी अट्न सक्दा रहेछन् भनेर पनि यो पुस्तकबाट सिक्न सकिन्छ । त्यसैले कानूनका अतिरिक्त पनि यो पुस्तकमा जीवनका अनेकन गोरेटा र व्यवहारहरु भेटिन्छन् ।