• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

विश्वकप छनोट अगाडि क्रिकेट टोली अभ्यासका लागि दक्षिण अफ्रिका जाने



फाईल फोटो

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको तयारीको लागि अभ्यास खेल खेल्न नेपाली टोली दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ ।नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यासको लागि टोली जेठको दोस्रो साता अफ्रिका जान लागेका हुन् ।

नेपाली टोली दक्षिण अफ्रिका जाने तय भईसकेको र त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेलको कुरा भईरहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । ‘नेपालमा बर्षादको समय पनि सुरु हुन लाग्यो । अभ्यासका लागि सहज वातावरण नदेखेर क्यानले खेलाडीहरुलाई अभ्यासका लागि विदेश पठाउने तयारी गरेको हो ।’ उनले भने ।

विश्वकप छनोट प्रतियोगिता जिम्बावेमा हुने भएकोले अफ्रिकी कन्डिसनमा तयारी गर्दा केही फाइदा होला भनेर क्यानले दक्षिण अफ्रिका रोजेको उनले बताए ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म जिम्बावेमा आयोजना हुनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई गरि कुल १० टोलीले छनोट खेल्नेछन् । सुपर लिगको पुछारमा रहँदै श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र आयरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै, लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । क्वालिफायर प्लेअफबाट अमेरिका र युएईले स्थान पक्का गरेका हुन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

१३ राष्ट्र सहभागी सुपर लिगमा शीर्ष आठमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपमा पुगेका हुन् ।

क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली:

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई