२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद अभिव्यक्ति दिएका सांसद वैद्यलाई फिर्ता लिन र आत्मालोचना गर्न कांग्रेसको निर्देशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विवादास्पद अभिव्यक्ति दिएका सांसद वैद्यलाई फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको शर्माले जानकारी दिए ।

शर्माले जारी गरेको विज्ञप्तिमा हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको उल्लेख छ । ‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ प्रवक्ता शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।’