• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

काठमाडौँ उपत्यकामा महँगी बढी



काठमाडौँ । देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै आठ दशमलव ५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । यो अवधिमा तराई क्षेत्रमा सात दशमलव ६८, पहाडमा सात दशमलव एक र हिमालमा सात दशमलव ४७ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव २५ प्रतिशत मूल्यवृद्धि थियो । त्यस्तै, तराईमा सात दशमलव ६१ प्रतिशत, पहाडमा सात दशमलव ७९ प्रतिशत र हिमालमा आठ दशमलव २५ प्रतिशत मुद्रास्फीति थियो । यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । अर्थात् सरकारले राखेको मूल्यवृद्धिको सीमाभन्दा बढी मूल्यवृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखेको थियो तर चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २८ प्रतिशत बराबर थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि छ दशमलव ९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आठ दशमलव ४२ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १४ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, मरमसलाको १४ दशमलव ६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १० दशमलव ३९ प्रतिशतले बढेको छ । घरायसी उपयोगका वस्तुमा नौ दशमलव ५४, मनोरञ्जन तथा संस्कृतिमा आठ दशमलव ८१, फर्निसिङ तथा घरायसी उपकरणमा आठ दशमलव ७४ र शिक्षा क्षेत्रमा आठ दशमलव ६७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।

गत चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने पाँच दमलव ५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४ दशमलव ४२ प्रतिशत थियो । रासस