• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

‘ए’ डिभिजन लिगः थ्री स्टार र मछिन्द्रले अंक बाँडे



काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र मछिन्द्रले गोलरहित रहदै बराबरीमा अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

खेलको ४४औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको पासमा चेन्चो ग्याल्सेनले गरेका प्रहार क्रसबारमा ठोक्किदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । यस्तै ४७औं मिनेटमा सन्तोष साहुखलले गरेका प्रहारमा पनि दिशा लिन सकेन ।

६८औं मिनेटमा थ्री स्टारले गोल गरेपनि अफसाइड भएर गोललाई मान्यता दिईएन । लाकेनको प्रहारलाई अफसाइडमा रहेका अजायी मार्टिन्सले फाइनल टच दिएका थिए ।

खेलको ७०औं मिनेटमा निसेनको क्रसमा ओलावालेको हेडरलाई महेन्द्रले हेडमार्फत नै क्लियर गरिदिए ।

८४औं मिनेटमा चेन्चोको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक मोहम्मद ताहले बचाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सौरभ लिम्बुको प्रहारलाई गोलरक्षक ताहले बचाए ।

यस बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्री स्टारले १२ खेलबाट २२ अंक बनाएको छ भने मछिन्द्रको १२ खेलमा १७ अंक भएको छ।