२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर पनि औलोको जोखिममा



अ+ अ-

दोधारा चाँदनी । भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताउनुभयो । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उहाँले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए । आव २०७८/७९ मा सङ्क्रमित घटेर छ मा पुगे पनि आयातीत सङ्क्रमितको सङ्ख्या ३० थियो । चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन् ।

भारतसँगको खुला सिमानाका कारण आयातीत औलो सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ लगायतका क्षेत्रमा विषादी छर्किएको उहाँले बताउनुभयो ।

“मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ”, भट्टले भन्नुभयो, “सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।” उहाँले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो औलोको सङ्क्रकमण देखिने गरेको बताउनुभयो ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिनुभयो । “औलोबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन्”, उहाँले भन्नुभयो, “महाकाली अस्पतालमा आउने औलो सङ्क्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन् । रासस