२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२ बाट चुनाव लडेका एमालेका पुरुषोत्तम पौडेलले दिए मतदातालाई धन्यवाद



अ+ अ-

बारा । प्रतिनिधिसभा सदस्य पदका लागि बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि पर्नुभएका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, “निर्वाचन प्रचारको क्रममा क्षेत्रभरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठूलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागिता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ ।”

“अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिबाट आएको जनादेशलाई स्वीकार गर्दछौँ र आफुलाई समीक्षा गरेर जुनसुकै अवस्थामा पनि आफ्नो जिम्मेबारीबाट पछि हट्दैनौँ । हामी आफूमा रहेका कमी कमजोरी हटाउँदै आफैँलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पबद्ध छौँ”, उहाँले लेख्नुभएको छ ।