• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

गण्डकी प्रदेश: बहुमतको सरकार गठनका लागि आह्वान



पोखरा । गण्डकी प्रदेशका प्रदेशप्रमुख पृथ्वीमान गुरुङले गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न तीन दिनभित्र दाबी गर्न आह्वान गर्नुभएको हो ।

गत पुस २५ गते नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकार दोस्रोपटक प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत सदस्यले विश्वासको मतको विपक्षमा मत दिँदा ढलेको थियो ।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल भएलगत्तै गत चैत १० गते माओवादी केन्द्रले अधिकारी नेतृत्वका सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औँ दिन वैशाख ९ गते सरकार ढलेको हो ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांसद जितेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले मत दिएका थिए । विश्वासको मतको पक्षमा एमालेका २२ र राप्रपाका २ प्रदेशसभा सदस्यले मात्र मत दिएका थिए ।

उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसले अडान राखेको थियो ।

तर माओवादी केन्द्र संसदीय दलका नेता चुमानले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा २ बमोजिम नै सरकार गठन हुने भन्दै पहिलो चरणमा आफू मुख्यमन्त्री हुने दाबी गर्नुभएको थियो । उहाँले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्म चेतावनी दिनुभएको थियो ।

कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा परेपछि प्रदेशप्रमुख गुरुङ कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै काठमाडौँ पुग्नुभएको थियो ।

आइतबार साँझ पोखरा फर्किनुभएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उहाँको आलोचनासमेत भएको थियो । माओवादी केन्द्रका चुमानलाई मुख्यमन्त्री बन्नबाट रोक्न कांग्रेसले ठूलो दलको हैसियतमै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग लबिइङ गरेको थियो ।

ठूलो दलको नेताका हैसियतमा सुरेन्द्रलाई नै मुख्यमन्त्री नियुक्त गर्न भन्दै शीर्ष तहमै दबाव दिन कांग्रेस काठमाडौँमै डेलिगेसन गर्न पुगेको थियो । त्यस्तै सुरेन्द्रराज पाण्डेले आइतबार साँझ नै काठमाडौँ गएर कसरत गरेको र शीर्ष नेताहरुलाई दबाव दिन सोमबार कांग्रेस संसदीय दलका सदस्य नै काठमाडौँ पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार साँझ उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति भएको थियो । सहमतिअनुसार सुरुको ३ वर्ष कांग्रेस र पछिल्लो दुई वर्ष माओवादीले सरकार चलाउने छ ।

प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गर्नुभएको जनाइएको छ ।