२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।

बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताउनु भयो । उहाँले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने बताउनु भयो । उहाँले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूचि रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उच्चस्तरीय भेटघाट हुनेछन् । दुई देशका संसदहरुको बीचमा एमओयु पनि हामी गर्नेछौँ । दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुनेछ । दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यवसायिक व्यक्तित्वहरुसँग र प्रदेश प्रमुखसहित करिव ९ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ । वैशाख १२ गते दिउँसो ४:४५ बजे करिव हामी यहाँ आउनेछौँ ।’

भ्रमण टोलीमा रहनुभएका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताउनु भयो । उहाँले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको बताउनु भयो । उहाँले आफूहरु नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको सद्भावसमेत रुसमा व्यक्त गर्ने बताउनु भयो । भ्रमण पूर्णरुपमा सफल हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा हाम्रो भ्रमण हुँदैछ । यो सम्भवत: रुसले हाम्रो राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी यति उच्चस्तरको भेट उच्चस्तरको भ्रमण पहिलो होला जस्तो लाग्छ मलाई हाम्रो यस पटकको भ्रमणको महत्व धेरै छ । उच्चस्तरीय भेट भइसकेपछि हाम्रो तर्फबाट अध्यक्षले सम्पूर्ण विषयहरु राख्नुहुनेछ ।’

‘नेपाली जनताको सद्भाव बोकेर रुस जाँदैछौँ । नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको समेत हाम्रो सद्भाव रुसमा गएर व्यक्त गर्नेछौँ । उताबाट पनि त्यत्तिकै महत्वका साथ हाम्रा सम्बन्धहरु भविष्यमा विकसित हुँदै जाने र नेपालको भ्रमण गर्ने अवस्था आउने नै छ । सद्भाव पूर्ण रुपले सफल हुनेछ ।’

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।