• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

छिट्टै बन्छ रङ्गशाला: महानगर प्रमुख दाहाल



चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताउनुभएको छ । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उहाँले रङ्गाला बन्ने निश्चित भएको बताउनुभएको हो ।

प्रमुख दाहालले भन्नुभयो,“अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ ।” अहिले पनि धेरै जनामा रङ्गशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै उहाँले धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिई बाँकी निर्माणकार्य अगाडि बढ्ने बताउनुभयो । निर्माणाधीन उक्त रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताउनुभयो ।

उहाँले पुल्चोक इन्जीनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको बताउनुभयो । रङ्गशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेशनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रङ्गशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषद्को बैठकले फाउण्डेशनलाई एकमुष्ठ अनुदान दिई सङ्घीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो ।

बागमती प्रदेश क्रिकेट सङ्घ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रङ्गशालाको मैदानमा आजदेखि ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो । प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ । बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष राजु बस्न्यातले प्रतियोगितामा नेपाल क्रिकेट सङ्घले मान्यता दिएका छ जिल्लाका टोलीको सहभागिता रहेको जानकारी दिनुभयो ।

काठमाडौँ, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समूह ‘बी मा रहेका छन् । प्रतियोगिता लिगका आधारमा खेलाइने छ । दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष बस्न्यातका अनुसार विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई उपहारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।