२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु



symbolic photo
अ+ अ-

सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो ।

सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ ।

सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणदर बढेसँगै ‘एक्टिभ केश’ (सक्रिय बिरामी) पनि बढेका छन् । हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।

सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी–कमजोरी देखिएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना सङ्क्रमणदर अझै बढ्न सक्ने बताउनुभयो । “नमूना परीक्षण गराउनेहरू बढ्दा कोरोना ‘पोजेटिभ’ बिरामी पनि बढ्न सक्छन्”, उहाँले भन्नुभयो, “सङ्क्रमण पुष्टि हुने व्यक्तिलाई चिकित्सकसँग सल्लाह लिन र होमआइसोलेसनमा बस्न सल्लाह दिने गरेका छौँ ।”

सीमाक्षेत्र हुँदै भित्रिने सङ्क्रमित नागरिकको हकमा निजकै घरठेगाना भएको पालिका तहलाई सीमाक्षेत्रमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत समन्वय गरेर जानकारी गराउने गरिएको छ । तर पालिका तहले सङ्क्रमण रोकथामका लागि पहल गरे/नगरेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन् । कोरानाको सङ्क्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज ९खोपको मात्रा० स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ ।

सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ ।

स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण भएकाहरूले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ ।

कोरोना भाइरसको समस्या देखिएपछि हालसम्म सुदूरपश्चिममा छ लाख ५४ हजार आठ सय १८ जनाको नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६२ हजार दुई सयमा सङ्क्रमण पुष्टि भएको छ । रासस