वि. सं. २०७९ले आफ्नो कथालाई इतिहास संकलन गरेर अस्तायचलतिर लागेपछि २०८०को प्रारम्भ हुँदैछ । यस वर्षको संंवत्सर नाम पिङ्गल हो, राजा बुध, मन्त्री शुक्र छन् ।
सामान्यत: राजा र मन्त्री ग्रहले वर्षभरी कस्तो हुन्छ भन्ने संकेत दिन्छ । राजाका पदमा रहेका बुधग्रहले शेयर, विद्यालय, बौद्धिक चातुर्य, पत्रकारिता लगायतका क्षेत्रमा असर पार्छ । बुध ग्रह श्रावण ३१ गते बक्र भई श्रावण ६ गते पुन: भाद्र २१ गते भाद्र २३सम्म अस्त बक्र हुने हुँदा राष्ट्रले फाइदा लिन सक्दैन ।
राज्यको ढुकुटी, शक्तिको दुरूपयोग, बौद्धिक व्यक्तिहरुले बाटो छोड्ने, शेयरमा गिरावट आदि हुने छ । मन्त्रीका रुपमा रहेका शुक्रमा सौन्दर्य, मनोरञ्जन, विवाह, सम्पूर्ण विज्ञान, स्त्री, भोगविलाश, रेष्टुरेन्ट आदि गुण हुन्छन् । आषाढ ३१ देखि बक्र भएका शुक्र भद्रौ १२ गते मार्गी हुन्छन् । वक्र हुँदा यी विषयबाट लाभ मिल्दैन । यो वर्ष मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीन राशिलाई आद्य साढेसात छ । कर्कट तथा बृश्चिक राशिलाई अढैयाको असर रहनेछ । जन्मकुण्डलीमा शनि राम्रो भएमा उचित प्रतिफल, नराम्रो भएमा खराब फल मिल्नेछ । यस वर्ष कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण परेको छ ।
नयाँ वर्ष भन्ने वित्तिकै जनवरी महिनालाई संझने क्रमले युवापुस्तामा विक्रम संवत् केही ओझेलमा परेको छ । हाम्रो शास्त्र र भूगोलले वैशाखलाई पहिलो महिना मान्दछ । ज्योतिषशास्त्रअनुसार जुन महिनामा विशाखा नक्षत्रमा पूर्णिमा पर्छ त्यही वैशाख महिना हुन्छ ।
वैशाखलाई मेष महिना भनिन्छ जसको राशि स्वामी मंगल हो, जहाँ सूर्य उच्च हुन्छन् । मंगललाई सेनापति र सूर्यलाई राजा ग्रह मानिन्छ । राजा र सेनापति प्रबल भएको राष्ट्रले उपनिवेश एवं अन्यायको मुख देख्नुपर्दैन । गायत्री मन्त्रले सूर्यको उपासना गर्छ, सूर्यलाई ऊर्जा र परमात्माको स्वरूप मानिन्छ ।
पश्चिमाहरुले रातको १२ बजेपछि अर्को दिन लागेको बताए पनि ज्योतिषशास्त्रले सूर्योदय नहुँदासम्म अगिल्लै दिन मान्छ । यसकारण वि. सं. २०७९ सालको अन्त्य वि. सं. २०८० वैशाख १ गते विहान ५ बजेर ४३ मिनेटको सूर्योदयसँग हुन्छ र नयाँ वर्ष लाग्छ । सूर्य बेलुका पाँच बजेर २६ मिनेटपछि अश्विनी क्षेत्रमा प्रवेश हुने हुँदा त्यसपछिमात्र वैशाख महिना लाग्छ अर्थात् नयाँ वर्षको प्रारम्भ हुन्छ ।
हाम्रो पञ्चाङ्गमा सूर्य र चन्द्रमासहित अन्य ग्रहका गतिको सूक्ष्म हिसाब किताब गरिएकाले जीवनोपयोगी छ । सूर्यलाई ग्रहका राजा मानिने हुँदा आइतबार अर्थात् रविबारलाई हप्ताको पहिलो दिन मानियो । प्राचीन कालदेखि सूर्य र चन्द्रवंश गरी दुई क्षत्रिय राजवंशको शासन चलेको देखिन्छ । सूर्यवंशको श्रीगणेश इक्ष्वाकु र चन्द्रवंशको प्रारम्भ बुधका छोरा पुरुरवाबाट भयो ।
भगवान् राम सूर्यवंशी र कृष्ण चन्द्रवंशी क्षत्री थिए । नेपालको राष्ट्रिय झण्डासहित यहाँका मन्दिरहरूमा चन्द्र, सूर्य अड्ढित झण्डा छन् । सूर्यको महिमा, महत्व, पूजा र उपासना आदिलाई समेटेर सूर्यपुराण, सूर्योपनिषद्लगायतका ग्रन्थहरू निर्माण गरिएका छन् । महर्षि कश्यप एवं अदितिबाट जन्मेका सूर्यको विवाह विश्वकर्माकी पुत्री संज्ञासँग भयो । उनीहरूबाट वैवश्व मनु, यमराज, यमी जन्मिए । सूर्य र छायाँबाट शनि, सावर्णि मनु, तपतीको जन्म भयो । त्रेतायुगका कपिराज सुग्रीव एवं द्वापरयुगमा कर्ण पनि सूर्यकै सन्तान भए ।
चैत्रदेखि वसन्त ऋतु लागे पनि अधिकांश स्थानका प्रकृति वैशाखपछि हृदयदेखि हाँस्ने, मन रम्ने, साधना फक्रने हुँदा वैशाख पहिलो महिना हुन पुग्यो । महिनाअनुसार सूर्यको नाम, उदाउने र अस्ताउने समय, तापको मात्रा फरक भएकाले बाह्र महिना भए । सूर्यको अर्थ परमात्मा पनि हुनेहुनाले पृथ्वी आदि लोकका पालनकर्ताका रूपमा पूजा गरिन्छ ।
सूर्यले राक्षस, पिसाच आदि तामसी शक्तिको उपद्र र प्रकोपबाट रक्षा गर्दछन् । सूर्यकै वरिपरि घुम्दै ग्रहहरूले ताप र प्रकाश प्राप्त गर्दछन् । सूर्यका भानु, दिवाकर, दिनानाथ, आदित्य, आइतलगायतका अनेकौँ नाम छन् । हप्ताको पहिलो दिन सूर्यकै नामबाट आइतबार शुरु हुन्छ । प्रिज्मको प्रयोग गरी सूर्यका सात किरणहरूलाई हेर्न सकिन्छ ।
वेद, उपनिषद्लगायतका शास्त्र र ग्रन्थहरूले संवत्सर, अयन, महिना, बार, तिथि, पक्ष, नवग्रहको व्यावहारिक र धार्मिक प्रयोग बताएका छन् । समयको सूक्ष्म एकाईअन्तर्गत पला, विपला, निमेष एवं ठूलो एकाईमा वर्ष, युग आदि छन् । नेपालमा घण्टा र मिनेटभन्दा पहिले घडी र पलाको प्रयोग व्यापक थियो । तामाको भाँडामा घडा राखेर डुबेपछि एक घडी बितेको मानिन्थ्यो ।
२ घडी ३० पलाको एक घण्टा हुन्छ । सूर्यलाई अग्नि रूप मानिन्छ । ‘अग्रे नीयते येन स अग्नि: अर्थात्, जसले अगाडि (मोक्ष, सत्कार्यतर्फ) लैजान्छ त्यसलाई अग्नि भनिन्छ । अग्निका तीन काम हुन्छन्– ताप(तताउने), पाक(पकाउने) र प्रकाश (उज्यालो दिने) । सूर्यपुराणमा सूर्यलाई परमात्मा, सृष्टिका संरक्षक, प्रकाशदाता, सम्पूर्ण देवताका प्रतिमूर्ति बताएको छ ।
महादेवको दायाँ आँखा सूर्य, चन्द्रमालाई बायाँ, अग्निलाई तेस्रो नेत्र मानिन्छ । ज्ञान र उज्यालोको प्रतीक मानिने हुँदा आर्यावर्तका विभिन्न स्थानमा सूर्यको मन्दिर छन् । सूर्यका मूर्तिमा अथाहा शक्ति सञ्चार भइरहने हुँदा मन्दिरभित्र राखिँदैन । पहिले उत्पत्ति भएकाले सूर्यलाई आदिदेव भनिन्छ । उदय अवस्थामा सूर्यको ब्रéरूप, मध्याìमा महेश्वर र अस्ताउने बेलामा विष्णुरूप मानिन्छ । सम्पूर्ण स्थावर र जङ्गमका आत्मा नै सूर्य हुन् । आत्मा भनेकै चेतन हो, चेतन भनेकै सूर्य हो ।
नयाँवर्षसँग हरेक प्राणी एक वर्ष बुढो हुँदै जान्छ । नयाँ वर्षले नवीन जीवनको प्रारम्भ, नयाँ सोचको अंकुर, नयाँ अनुभवको पाहुलालाई उत्कृष्ट बनाउनतिर सहयोग गर्नुपर्छ । नयाँ वर्ष हरेक प्राणीको जन्म दिनजस्तै भएकाले कुल, आमाबुबा, गुरुको दर्शन र स्मरण गर्ने, देवीदेवताको पूजा उपासना गर्ने, ठूलाबाट आशीर्वाद लिने जस्ता ऊर्जाशील तथा सत्कर्म गर्नुपर्छ ।
रातको १२ बजेदेखि नै फोन गर्ने, हुर्रे लगाउने, टोल र समाजलाई असर पार्ने कार्य गर्न हुँदैन । ऋषिका सन्तान, देवीदेवताका अंश भएका मानिसले प्रकृति र संस्कृति विरुद्धका काम गर्नु शोभनीय हुँदैन ।
नयाँ वर्ष एक पर्व हो, उत्सव हो, जन्म हो । अरु दिनको भन्दा अधिक साधना गर्नु, सत्संगत गर्नु, परोपकार गर्नुपर्छ जसले वर्षदिनसम्म मानवबाट महामानव बन्ने प्रेरणा दिन सकोस् ।