
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामै राख्नुपर्ने निर्णय भएसँगै प्रहरीले तत्कालै पक्राउ गर्यो ।
उच्च अदालतले बुटवलमा आदेश दिएलगत्तै प्रहरीले काठमाडौंमा रहेका रविलाई पक्राउ गरेको हो । राति सुत्ने तयारीमा रहेका रविलाई पक्राउ गर्न घरमै प्रहरी पुगेपछि उनले आफू अदालतको आदेशअनुसार प्रहरीलाई गिरफ्तारी दिने घोषणा गरेका थिए । तर प्रहरीले तत्काल उनलाई घरबाटै पक्राउ गर्यो ।
लामिछानेलाई समात्न राति ९ बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा रहेको लामिछाने निवास पुगेको थियो ।
प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए । उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय राना, विपिन आचार्य लगायत पनि त्यहाँ पुगिसकेका थिए ।
लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए । प्रहरीले लामिछानेलाई किन यति हतारका लागि पक्राउ गर्यो भन्ने चाहिँ रोचक छ ।
सयौं प्रहरीकै अगाडिबाट गाडि हुँइक्याएर फरार भएका राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरीले अदालतको आदेश स्वीकार गर्न आफैं प्रहरीको पुग्ने बताइरहेका रास्वपा सभापति लामिछानेलाई घरबाटै गिरफ्तार गरेको छ । रवि अपराधि करार भइसकेका व्यक्ति होइन । उनी एउटा राष्ट्रिय दलको सभापति हुन्, सांसद हुन् र उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । उनले अदालतको निर्णयलाई सहर्ष स्वीकार गर्छु भनिसकेका थिए । तर रातारात प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो ।
त्यसो त अघिपछिका उदाहरण हेर्दा कुनै पनि अदालतले फैसला गरिसकेपछि पनि लामो समयसम्म आदेश नआएको भन्दै प्रहरीले आलटाल गर्ने गरेका थिए । तर यस पटक साँझ ७ बजेपछि बुटवलमा अदालतले आदेश दिँदा नदिँदै यता रविको घरमा प्रहरी पुगिसकेको थियो । अदालतले के आदेश दिएको छ भनेर सञ्चारमाध्यममा आएका समाचारकै आधारमा प्रहरी रविकोमा पुगेको देखिन्छ । प्रहरीले न अदालतको आदेश पढेको थियो, न त कार्यान्वयनका लागि भन्दै प्रहरीकोमा आएको नै थियो ।
रवि लामिछानेको घरमा प्रहरी पुगे पनि कुनै कागजात थिएन । रवि आफैंले औपचारिक कागजात माग्न खोजे । प्रहरी पक्राउ पूर्जी समेत नलिई आएको थियो । पक्राउ पर्नुअघि सार्वजनिक भएको भिडियामा पनि प्रहरी निकै हतारमा रहेको देखिन्थ्यो । प्रहरीले रविलाई तत्काल गइहालम् भनेर आग्रह गरिरहेका थिए । तर रविले पक्राउ पूर्जी माग गरिरहेका थिए ।
प्रहरी त्यसबेला उच्च अदालत बुटवल इजलासले दिएको आदेशको प्रतिलिपि मात्र बोकेर त्यहाँ पुगेका थिए । प्रहरी अधिकारीहरुले त्यही प्रतिलिपिमा हस्ताक्षर गरेर लामिछानेलाई हिंड्न भनेका थिए । तर, रास्वपा नेताहरु र लामिछानेले पक्राउ पूर्जी दिनुपर्ने भन्दै अडान लिए ।
लामिछानेको कोठामा रहेका अन्य रास्वपा नेता तथा सहयोगीहरुले प्रहरीलाई ‘तयारी गरेर आउनु पर्दैन ?’ भन्दै प्रश्न गर्न थाले । त्यसपछि केही बेर प्रहरी र लामिछानेबीच सवाल जवाफ समेत भयो ।
प्रहरीले लामिछानेकै अगाडि पक्राउ पूर्जी लेखेर थमाउँदै पक्राउ गरेको थियो । यो अनौठो दृश्य थियो । जुन यसअघि भएका घटनामा यस्तो हतारो प्रहरीले गर्ने गरेको थिएन ।
रविलाई पक्राउ गर्न हतार गरिनुका कारण के हो प्रष्ट भइसकेको छैन । तर उनी चार वटा अदालतबाट धरौटीमा रिहा भएपछि पार्टीको काममा सक्रिय भएका थिए । पछिल्लो समय उनले अब आफूले बोल्ने समय आएको बताउँदै आएका थिए । आज मात्र रविको पार्टी रास्वपाले चितवनमा सभा गर्ने तयारी गरेको थियो । त्यो सभामा रविले ठूला राजनीतिक दलका शीर्ष नेताहरुप्रति आक्रोस व्यक्त गर्ने भयले पनि अदालतको आदेश लगत्तै पक्राउ गरिएको हुनसक्ने देखिन्छ ।
त्यसो त अहिले राजावादी र गणतन्त्रवादीबीच जुहारी चलेको छ । यो जुहारीमा रास्वपा अलि पर बस्दै आएको थियो । कतै रास्वपाले राजावादी समूहलाई औपचारिक रुपमा साथ दिन्छ कि भन्ने भयसमेत प्रमुख दलका शीर्ष नेताहरुमा देखिन्छ । त्यसैले पनि लामिछानेलाई पक्राउ गर्ने हतारो प्रहरीले गरेको हुनसक्छ ।