२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा लिभरपुल र आर्सनलबीच भिडन्त



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आईतबार आर्सनल र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि होडमा रहेको आर्सनल र लिभरपुलबीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

जारी सिजनमा अंकतालिकाको आठौं स्थानमा रहेको लिभरपुलसँग शीर्षस्थानमा रहेको आर्सनल तुलनात्मक रुपमा बलियो देखिए पनि लिभरपुलको घरेलु मैदानमा आर्सनलको नतिजा भने राम्रो छैन ।

आर्सनलले पछिल्लो पटक सेप्टेम्बर २०१२ मा तत्कालीन प्रशिक्षक आर्सेन वेंगरको प्रशिक्षणमा लिभरपुललाई उसको मैदान एनफिल्डमा पराजित गरेको थियो । तसर्थ झण्डै १० वर्षपछि आर्सनल लिभरपुलविरुद्ध उसको मैदानमा जितको खोजीमा छ ।

लिभरपुल पछिल्ला तीन खेलहरुमा जितविहिन छ । तर, लिभरपुलले आफ्नो मैदान एनफिल्डमा आर्सनलविरुद्ध पछिल्ला ६ खेलमा जित निकाल्दै आर्सनलको पोस्टमा २२ गोल गरेको छ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप आफ्नो शीर्ष व्यवस्थापकीय करियरमा पहिलो पटक विपक्षीविरुद्ध घरेलु मैदानमा लगातार सात जित हासिल गर्ने दाउमा छन् ।

गत अक्टोबरमा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलले नाटकीय जित निकालेको थियो । यदि आर्सनलले भोलिको खेलमा एनफिल्डमा लिभरपुललाई हराएमा उसले २००९–१० को सिजनपछि दुबै खेलमा लिभरपुलविरुद्ध जित निकाल्न सफल हुनेछ ।

जारी सिजनमा आर्सनलका अग्रपंक्तिका खेलाडीहरु उच्च लयमा छन् । बुकायो साका र गाब्रियल मार्टिनेलीले समान १३–१३ गोल गरेका छन् भने कप्तान मार्टिन ओडेगार्डले १० गोल गरेका छन् । यसबाट आर्सनलका अग्रपंक्तिका खेलाडीको लय प्रस्टसँगै देख्न सकिन्छ । यस्तै, साकाले १०, मार्टिनेलीले ४ तथा ओडेगार्डले ७ असिस्ट प्रदान गरेका छन् । यस्तै, इन्जुरीबाट फर्किएका गाब्रियल जेससले गत हप्ता लिड्स युनाइटेडविरुद्ध २ गोल गर्दै लयमा फर्किएको संकेत गरिसकेका छन् ।

आर्सनलले २९ खेलमा ३ खेलमा पराजय र तीन खेलमा बराबरी खेल्दा २३ खेल जितेको छ । लिभरपुलले ७ खेलमा बराबरी खेल्दा ९ खेलमा पराजय ब्यहोरेको छ भने १२ खेलमा जित निकालेको छ ।