८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदले मित्रता बढाउँछ– अध्यक्ष ओली



अ+ अ-

लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताउनुभएको छ । उहाँले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताउनुभयो ।

विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।”

उहाँले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताउनुभयो । अध्यक्ष ओलीले विपक्षीसँग कसरी मित्रवत् बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताउनुभयो । उहाँले आफूले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई सधैँ प्राथमिकता दिएको भन्दै खेलसम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद मार्गनिर्देश गरेको विचारबाट एकेडेमीले आफ्ना कार्यक्रम अघि बढाउँदा नयाँ–नयाँ उपलब्धि र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशभरि नै खेलकुद पूर्वाधार निर्माणका लागि एमालेले नेतृत्व गरेको चर्चा गर्दै खेलकुदको विकास, खेलाडीको सम्मानका लागि एमालेले अगुवाइ गरेको बताउनुभयो ।

उहाँले सुरु भएका खेलकुद पूर्वाधारहरू सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने बताउनुभयो । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि राज्यले लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले एकेडेमीले सबै विधाका खेलकुदको विकासका लागि सङ्गठन माध्यमबाट कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताउनुभयो । त्यस अवसरमा एकेडेमीले आज बिहान आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । रासस