काठमाडौं । संघीय सत्ता समीकरण परिवर्तनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि देखिन थालेको छ। सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले भोलि (सोमबार) सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।
सत्ता समीकरण बदलिएको अवस्थामा सरकारमा निरन्तर बसिरहनु राजनीतिक तथा नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षसहित कांग्रेसका मन्त्रीहरूले पदबाट अलग हुने निर्णय गरेका हुन्।
राजीनामा आजै बुझाउने तयारी भए पनि सार्वजनिक बिदा र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेकाले प्रक्रिया भोलिसम्मका लागि सारिएको बताइएको छ।
कांग्रेसबाट प्रदेश सरकारमा सहभागी खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना, पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।
यसअघि शनिबार मात्रै नेकपा (एमाले) र नेकपाबीच नयाँ सत्ता समीकरण निर्माण गर्ने उद्देश्यसहित तीनबुँदे सहमति भएको थियो। उक्त सहमतिपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।











