८ श्रावण २०८३, शुक्रबार
,
Latest
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाङ समुदायले बालाजु बाइसधारा स्नान गरी तेमाल जात्रा मनाउदै -फोटो फिचर



अ+ अ-

तस्बिरः हरिराम भेटुवाल- रासस

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाका दिन बालाजु बाइस धारा (स्नान मेला) आज मनाईदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा छ ।

बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारा स्नान गर्छन् । सक्नेले नागार्जुनस्थित जामाचोमा दर्शन गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने चलन छ । नसक्नेले बालाजु बाइसधारापछि सीधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ ।

हाल जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ । घना जंगल भएकाले यो बाटो जामाचो जाँदा समूहमा जानुपर्ने हुन्छ ।

तस्बिरः हरिराम भेटुवाल- रासस

जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जान सक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेर समेत जान सकिन्छ । सत्ययुगमा विपश्वी बुद्धले उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ ।

त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवंगत पितृका नाममा बत्ती बाल्ने परम्परा शुरु भएको हो । राजा रिञ्जिन दोर्जे बलका पालामा यसलाई तेमाल जात्रा नामकरण गरियो । हाल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानुपर, ललितपुरलगायत उपत्यकाका विभिन्न स्थानका तामाङ समुदायको यो जात्रामा भीड लाग्ने गर्छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवंगत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा तीन लाखभन्दा बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

तेमालका अन्तिम राजा रिञ्जिनदोर्जेले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएपछि यसको नाम तेमाल रहन गएको जनबिश्वास छ ।