१४ माघ २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः डु प्लेसिस र कोहलीको १४८ रनको साझेदारीमा बैंगलोरले मुम्बईलाई ८ विकेटले हरायो



अ+ अ-

एजेन्सी । आईपीएलको १६ औं संस्करण अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)ले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा उसले ८ विकेटले जित हात पारेको हो । आरसीबीका कप्तान फाफ डुप्लेसिसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा आरसीबीले १६.२ ओभरमा दुई विकेट गुमाएर १७२ रन बनाएर खेल जित्यो ।

आईपीएल सिजनको पहिलो खेल मुम्बई इन्डियन्सका लागि विशेष छैन । यसपटक पनि त्यस्तै भयो । मुम्बईको टोली यस सिजनको आफ्नो पहिलो खेलमा लगातार ११ औं पटक पराजित भएको छ । उसले पछिल्लो पटक २०१२ मा जितेको थियो ।

अर्कोतर्फ आरसीबीले पछिल्लो ६ खेलमा मुम्बईलाई पाँचौं पटक पराजित गरेको छ । साथै, आरसीबीले घरेलु मैदानमा ११ खेलमा मुम्बईविरुद्ध तेस्रो पटक जित हासिल गरेको छ । यसअघि २०१३ मा दुई रनले र २०१८ मा १४ रनले जितेको थियो ।

कप्तान फाफ डुप्लेसिस र अनुभवी ब्याट्सम्यान विराट कोहलीले टोलीलाई जित दिलाएका हुन् । दुवै अनुभवी ब्याट्सम्यानले अर्धशतक बनाए । १७२ रनको लक्ष्य पछ्याएको आरसीबीलाई कोहली र डुप्लेसिसले उत्कृष्ट सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । कोहली र डुप्लेसिसले १४.५ ओभरमा १४८ रन जोडे ।

डुप्लेसिस ४३ बलमा ७३ रन बनाएर आउट भए । उनले पाँच चौका र छ छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १६९.७७ थियो। सोही क्रममा कोहलीले ४९ बलमा अविजित ८२ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का प्रहार गरे । विराटको स्ट्राइक रेट १६७.३५ थियो । ग्लेन म्याक्सवेल तीन बलमा दुई छक्का प्रहार गर्दै १२ रनमा अविजित रहे । दिनेश कार्तिकले खाता खोल्न सकेनन् । मुम्बई इण्डियन्सका अरशद खान र क्यामरुन ग्रीनले एक एक विकेट लिए ।

बायाँ हाते ब्याट्सम्यान तिलक वर्माले ४६ बलमा अविजित ८४ रन बनाएर मुम्बई इन्डियन्सलाई ठूलो स्कोरमा पुर्याए । एक तर्फबाट मुम्बईको विकेट लगातार झरिरहेको थियो भने अर्को तर्फबाट तिलकले लगातार रन बनाइरहेका थिए । उनले इनिङ्सको अन्तिम बलमा हर्षल पटेललाई छक्का प्रहार गरे । उनको इनिङ्सका कारण मुम्बईले १७० रनको अंक पार गर्यो ।

तिलकले आफ्नो पारीमा नौ चौका र चार छक्का प्रहार गरे । ५.२ ओभरमा तीन विकेट खसेपछि उनी क्रिजमा आएका थिए । त्यतिबेला टोलीको स्कोर २० रन थियो । त्यहाँबाट उनले मुम्बईलाई १७० रनभन्दा माथि पुर्याए । तिलकले चौथो विकेटका लागि सूर्यकुमार यादवसँग २८ रनको साझेदारी गरे । त्यसपछि उनले निहाल बधेरासँग पाँचौं विकेटका लागि ३० बलमा ५० रन जोडे । त्यसपछि उनले अर्शद खानसँग सातौं विकेटका लागि १८ बलमा अविजित ४८ रनको साझेदारी गरे ।

मुम्बईका नौ ब्याट्सम्यानमध्ये चारले दोहोरो अंक छुन सकेनन् । क्यामरुन ग्रीन र ऋतिक शोकिन ५–५ रन बनाएर आउट भए । टिम डेभिडले चार र कप्तान रोहित शर्माले १० बलमा एक रन बनाए । रोहितले आईपीएलको लगातार १५ औं इनिङ्समा अर्धशतक बनाउन सकेनन् । निहाल बधेराले १३ बलमा २१ रन, सूर्यकुमार यादवले १६ बलमा १५, इशान किशनले १३ बलमा १० र अरशद खानले ९ बलमा अविजित १५ रन बनाए । आरसीबीका लागि कर्ण शर्माले दुई विकेट लिए । मोहम्मद सिराज, रिस टपली, आकाश दीप र माइकल ब्रेसवेलले एक एक विकेट लिए ।

यसैबीच आज चेन्नई सुपर किंग्स लखनउ सुपरजायन्ट्सले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।