• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या



पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ ।

दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ । इलामको माई खोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतिपूर्ण बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलेको भनाइ छ । जमिन भासिने र पहिरो झर्ने समस्याको दीर्घकालीन समाधान तय हुन नसक्दा समस्या परेको उहाँले बताउनुभयो । जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको छ ।

जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माई खोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१÷०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो । रु छ करोडको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ । भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतिपूर्ण हुने गरेको छ ।

इलाममा माइखोला–भञ्ज्याङको छ किलोमिटर सडक निरन्तर भासिने गरेको छ । यस स्थानमा १० वर्षमा करीब तीन मिटर सडक भासिएको पाइएको छ । यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी–दानाबारी–राकसे–बेलासे–भञ्ज्याङ सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने बनेको छ । धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा–७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ । स्थानीयवासी राजेन्द्रप्रसाद काफ्लेका अनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गर्थ्यो । सर्ने जमिनमै बाटो बनेपछि सडक नअडिएको काफ्लेको भनाइ छ । “सडक भन्दामुनि जमिनमा ठूलो भास छ । बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ”, उहाँले भन्नुभयो, “घ्यापे दीर्घकालीन समस्या बनेको छ ।”

यस स्थानमा २०४२ सालमा सडक विस्तार भई २०४३ सालदेखि सवारी साधन चल्न थालेका थिए । सडकको माथिल्लो भागमा पाइप लगाई पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ । यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती–चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ । “यी दुवै सडक मर्मत सम्भार गरे चलाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर क्षेत्रमा सडक मर्मत गरिरहेका निर्माण व्यवसायीले सडक भित्तामा रहेको चट्टान कटान गराएपछि पहिरो झर्न थाल्यो । व्यवसायीले आफूखुशी ढुङ्गा उत्खनन गर्दा झरेको पहिरोका कारण चार वर्षअघि एक साता राजमार्ग नै अवरुद्ध बनेको थियो । एक साताको प्रयासमा पहिरो पन्छाएर सडक सुचारु त भयो, तर दीर्घकालीन समस्या निम्तियो ।

पाङ्ग्रेभीरमा सडकमाथिको ठूलो भाग लच्किएर झरेको छ । तर लच्किएको सबै जमिन पहिरो बनेर बगेको छैन । वर्षा हुनासाथ ढुङ्गामाटो सडकमा झर्ने गर्दछ । सडक डिभिजन कार्यालय इलामले कङ्क्रिट पर्खाल लगाएर पहिरो रोक्न खोजे पनि ठूलो भाग लच्किएकाले पहिरो सडकमा झर्ने गरेको छ ।

पाङ्ग्रेभीरको पहिरो दीर्घकालीन समस्या बन्ने देखिएपछि सो समय फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको लगानीमा गुम्बाडाँडा–निबुखोला–राँकेबजार वैकल्पिक सडक निर्माण थालिएको थियो । उक्त सडकको ट्र्याक खोल्ने काम सकिएपछि स्तरोन्नतिमा कुनै निकायले ध्यान दिएनन् । त्यसैले यो सडकमा सवारी सञ्चालन हुन सक्दैनन् । पहिरो झरेर पाङ्ग्रेभीर अवरुद्ध बने राजमार्ग नै ठप्प हुने अवस्था रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पोखरेलको भनाइ छ । “यी समस्याबारे सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

मेची राजमार्ग विसं २०२९ मा खाद्यान्न अनुदानमा निर्माण सुरु भएको थियो । विसं २०३३ देखि भने सरकारी बजेटमै सडक निर्माण हुन थाल्यो । ताप्लेजुङ, पाँचथर र इलामको ‘लाइफलाइन’का रूपमा रहेको सडक अहिले निकै व्यस्त हुने गरेको छ । यहाँ यात्रुवाहक सवारीका साधनको चाप दैनिकरूपमा बढिरहेको छ । यातायातको सुगमतापछि ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम दर्शन गर्न दैनिक हजारौँको सङ्ख्याका तीर्थयात्रीले यो सडक प्रयोग गर्ने गर्दछन् । यस्तै खाद्यान्न, मालसामानलगायत सामग्रीको ढुवानी तथा स्थानीय कृषि उपजहरूको निकासीमा समेत यो राजमार्ग महत्त्वपूर्ण रहेको छ ।

यद्यपि जमिन नअडिने समस्याले राजमार्गमा प्रायः हैरानी बेहोर्नुपर्ने अवस्था छ । झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङसम्म सडकका रहेका सयौँ खाल्डाखुल्डी र अवरोधले यात्रुलाई समस्या हुने गरेको छ । राजमार्गमा निरन्तर बाधा उत्पन्न हुने भएपछि विकल्पका रूपमा निर्माणाधीन तमोर कोरिडोर सडको प्रयोग हुन थालेको छ । यद्यपि यस कोरिडोरले मेची राजमार्गजस्तै ठूलो जनघनत्वलाई समेट्न सक्ने अवस्था नहुनाले मेची राजमार्ग विकल्पविहीन सडक बनेको छ । रासस