काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्ततः संसद पुनर्स्थापनाको पक्षमा खुल्न थालेका छन् । उनले अबको विकल्प संसद पुनर्स्थापना हुनसक्ने बताउन थालेका छन् । उनले हिजोमात्र प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गराउन इच्छुक नभएको हो कि भन्ने शंका लाग्न थालेको सार्वजनिक रुपमै बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सरकारले चुनावको वातावरण नै बनाउन नसकेको बताएक थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने विषय उठाएर सरकारको नियतमाथि शंका व्यक्त गरेका हुन् । उनले भने— नेताहरुलाई काठमाडौँ छाड्न नदिएर अनि कसरी चुनाव गर्नु ? के यो चुनाव गर्ने वातावरण हो त ?
तर उता कांग्रेसले भने चुनावमा जाने भनेर औपचारिक निर्णय नै गरिसकेको छ । सो निर्णयमा उनको पनि सहमति थियो । उनी अहिलेसम्म निर्वाचनको पक्षमै खुल्दै आएका थिए । तर हिजो उनले अकस्मात यो सरकारले चुनाव गराउन नसक्ने भन्दै अर्काे विकल्प खोज्नुपर्ने बताएपछि उनको यो पछिल्लो विचार अर्थपूर्ण रहेको बताइएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा भाग लिने भनेर निर्णय गरिसकेको छ । हामीले चुनावमा भाग लिने भनेका छौं,’ कोइरालाले भने, ‘तर, शान्ति सुरक्षा त सरकारले मेन्टेन गर्न पर्यो नि ! ५ हजार कैदी अझै फरार नै छन् । लुटिएको हतियार फिर्ता भएको छैन । एउटा पार्टीको अध्यक्षलाई भ्याली नछोड्न भनिएको छ । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ भन्ने? मलाई त सरकार नै इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ ।’
तर पछिल्लो समय कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भने मौन छन् । उनीहरुले आसन्न चुनाव या संसदको पुनर्स्थापना एवं पार्टीको आगामी महाधिवेशन आदिका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । प्रायः दिनहुँजसो मिडियामा आउने र अबको विकल्प चुनाव बाहेक अरु केही होइन भनेर प्रतिक्रिया दिइरहने महामन्त्री थापा केही समयदेखि मौन छन् ।
कांग्रेसका एकजना केन्द्रीय नेताले महामन्त्री थापालाई पनि अब पार्टीभित्रैबाट संसद पुनर्स्थापनाको पक्षमा खुल्नुपर्ने वाध्यता सिर्जना भएको बताए । उनले भने— उहाँसँग अब अर्काे विकल्प मैले देख्दिन । यसअघि पार्टी सभापति शेरबहादुर देउवा संसदको पुनस्र्थापना हुने भए गर्नुपर्ने भनेर लागिसकेका छन् । अब त्यसमा संस्थापन इतर पक्षका प्रमुख अर्का नेता शेखर पनि खुलिसकेपछि महामन्त्री थापा पनि सोही पक्षमा लाग्नुपर्ने बाध्यता छ ।
तर पनि यसअघि जेनजीको स्वरमा लय मिलाउँदै अब सबै चुनावका लागि तयार हुनुपर्ने भनेर प्रचार गरिरहेका गगनले अहिले नै संसद पुनर्स्थापनाको माग गर्न नसकेको ती नेताले बताए । तर केही समय उनलाई पार्टीका आफ्नो पक्षका सांसदको दबाब आउन सक्ने उनको भनाई छ । त्यसपछि उनी पनि यसैको पक्षमा आउन सक्नेछन् ।
यसअघि सभापति देउवा पक्षका सांसदले मात्र संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेकोमा हिजोदेखि शेखरका सांसदहरुले पनि सोही पक्षमा हस्ताक्षर गरेका छन् । सो हस्ताक्षर सर्वाेच्च अदालतलाई बुझाइने बताइएको छ । किनभने यसअघि संसदको विघटनका विरुद्धमा परेको रिटमा भएको बहसका क्रममा संसद पुनस्र्थापना अहिलेको आवश्यकता भएको भए किन सांसदले नै यो माग लिएर सर्वोच्च नआएको त भनेर प्रश्न गरेको थियो ।
त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद पुनर्स्थापना गराइपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा अहिले बहस जारी रहेको छ । बहस जारी रहेकै बेलामा कांग्रेसको बलियो पक्षका रुपमा रहेका शेखरले पनि यो माग राखेपछि यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
कतिपयले यसलाई संसद ब्युँतिएमा शेखर कोइराला प्रधानमन्त्री हुन सक्ने सम्भावनाका रुपमा पनि अथ्र्याएका छन् । देउवा र कोइरालाकाबीचमा यो सहमति भएपछि उनी संसद ब्युँताउन राजी भएका हुनसक्ने अनुमान पार्टीभित्रै पनि गर्न थालिएको छ ।










