५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ?



photo: rss
अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्ततः संसद पुनर्स्थापनाको पक्षमा खुल्न थालेका छन् । उनले अबको विकल्प संसद पुनर्स्थापना हुनसक्ने बताउन थालेका छन् । उनले हिजोमात्र प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गराउन इच्छुक नभएको हो कि भन्ने शंका लाग्न थालेको सार्वजनिक रुपमै बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सरकारले चुनावको वातावरण नै बनाउन नसकेको बताएक थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने विषय उठाएर सरकारको नियतमाथि शंका व्यक्त गरेका हुन् । उनले भने— नेताहरुलाई काठमाडौँ छाड्न नदिएर अनि कसरी चुनाव गर्नु ? के यो चुनाव गर्ने वातावरण हो त ?

तर उता कांग्रेसले भने चुनावमा जाने भनेर औपचारिक निर्णय नै गरिसकेको छ । सो निर्णयमा उनको पनि सहमति थियो । उनी अहिलेसम्म निर्वाचनको पक्षमै खुल्दै आएका थिए । तर हिजो उनले अकस्मात यो सरकारले चुनाव गराउन नसक्ने भन्दै अर्काे विकल्प खोज्नुपर्ने बताएपछि उनको यो पछिल्लो विचार अर्थपूर्ण रहेको बताइएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा भाग लिने भनेर निर्णय गरिसकेको छ । हामीले चुनावमा भाग लिने भनेका छौं,’ कोइरालाले भने, ‘तर, शान्ति सुरक्षा त सरकारले मेन्टेन गर्न पर्यो नि ! ५ हजार कैदी अझै फरार नै छन् । लुटिएको हतियार फिर्ता भएको छैन । एउटा पार्टीको अध्यक्षलाई भ्याली नछोड्न भनिएको छ । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ भन्ने? मलाई त सरकार नै इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ ।’

तर पछिल्लो समय कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भने मौन छन् । उनीहरुले आसन्न चुनाव या संसदको पुनर्स्थापना एवं पार्टीको आगामी महाधिवेशन आदिका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । प्रायः दिनहुँजसो मिडियामा आउने र अबको विकल्प चुनाव बाहेक अरु केही होइन भनेर प्रतिक्रिया दिइरहने महामन्त्री थापा केही समयदेखि मौन छन् ।

कांग्रेसका एकजना केन्द्रीय नेताले महामन्त्री थापालाई पनि अब पार्टीभित्रैबाट संसद पुनर्स्थापनाको पक्षमा खुल्नुपर्ने वाध्यता सिर्जना भएको बताए । उनले भने— उहाँसँग अब अर्काे विकल्प मैले देख्दिन । यसअघि पार्टी सभापति शेरबहादुर देउवा संसदको पुनस्र्थापना हुने भए गर्नुपर्ने भनेर लागिसकेका छन् । अब त्यसमा संस्थापन इतर पक्षका प्रमुख अर्का नेता शेखर पनि खुलिसकेपछि महामन्त्री थापा पनि सोही पक्षमा लाग्नुपर्ने बाध्यता छ ।

तर पनि यसअघि जेनजीको स्वरमा लय मिलाउँदै अब सबै चुनावका लागि तयार हुनुपर्ने भनेर प्रचार गरिरहेका गगनले अहिले नै संसद पुनर्स्थापनाको माग गर्न नसकेको ती नेताले बताए । तर केही समय उनलाई पार्टीका आफ्नो पक्षका सांसदको दबाब आउन सक्ने उनको भनाई छ । त्यसपछि उनी पनि यसैको पक्षमा आउन सक्नेछन् ।

यसअघि सभापति देउवा पक्षका सांसदले मात्र संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेकोमा हिजोदेखि शेखरका सांसदहरुले पनि सोही पक्षमा हस्ताक्षर गरेका छन् । सो हस्ताक्षर सर्वाेच्च अदालतलाई बुझाइने बताइएको छ । किनभने यसअघि संसदको विघटनका विरुद्धमा परेको रिटमा भएको बहसका क्रममा संसद पुनस्र्थापना अहिलेको आवश्यकता भएको भए किन सांसदले नै यो माग लिएर सर्वोच्च नआएको त भनेर प्रश्न गरेको थियो ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद पुनर्स्थापना गराइपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा अहिले बहस जारी रहेको छ । बहस जारी रहेकै बेलामा कांग्रेसको बलियो पक्षका रुपमा रहेका शेखरले पनि यो माग राखेपछि यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कतिपयले यसलाई संसद ब्युँतिएमा शेखर कोइराला प्रधानमन्त्री हुन सक्ने सम्भावनाका रुपमा पनि अथ्र्याएका छन् । देउवा र कोइरालाकाबीचमा यो सहमति भएपछि उनी संसद ब्युँताउन राजी भएका हुनसक्ने अनुमान पार्टीभित्रै पनि गर्न थालिएको छ ।