• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग



झापा । मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर हुनुभयो ।

जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु पर्‍यो । आज उनलाई झापाको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले नि:शुल्करूपमा कृत्रिम हातखुट्टा प्रदान गर्‍यो । “अब म पनि हिँड्न सक्ने भएकी छु”, उनले हर्ष प्रकट गर्दै भनिन् ।

गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई बोकेरै घरबाट लैजाने र ल्याउने गर्दै आउनुभएकी उहाँकी आमा सरिताले अब नयाँ हात र खुट्टा लगाएर स्कुल ओहोरदोहोर गर्न सक्ने आशा गर्नुभयो ।

नेपालमा हातखुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तका लागि नारायण सेवा संस्थानको सहयोगमा आज मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा नि:शुल्क वितरण गरेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताउनुभयो ।

कृत्रिम हातखुट्टा पाउने कोशी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन् । उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए । सोही आधारमा आज सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले बताउनुभयो ।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले विसं २०७६ देखि एउटा हात गुमाउनुपरेको थियो । उहाँले पनि आज कृत्रिम हात पाउनुभयो । “यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अङ्ग फर्किएर आएको जस्तो आनन्द भइरहेको छ”, उहाँले नयाँ हात लगाएपछिको अनुभूति सुनाउँदै भन्नुभयो ।

भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाउनुभएका भद्रपुर नगरपालिका–३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि आफ्ना दुवै खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताउनुभयो । “वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ”, उहाँले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भन्नुभयो, “भगवान्ले मेरो पुकार सुनेजस्तै लागेको छ । अब मेरो शरीरमा फेरि खुट्टा फर्किएको छ ।”

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा आज ९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो । उपसभामुख रानामगरले शारीरिक अशक्त नागरिकलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्दै भारत नेपालका लागि असल छिमेकी भएको बताउनुभयो । शारीरिक अशक्तको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उहाँको जोड थियो । “आज कृत्रिम हात र खुट्टा पाउनु हुने बुबाहरुको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु”, उहाँले भन्नुभयो ।

आफू पनि विपन्न र ग्रामीण परिवेशमा हुर्किएर सङ्घर्ष गर्दै आजको अवस्थामा पुगेको हुँदा समाजमा शारीरिक अशक्तको पीडा र समस्या आफूलाई थाहा भएको उहाँले बताउनुभयो । उपसभामुख रानामगरको हातबाट ह्वीलचियर ग्रहण गर्दा मेचीनगर–२ का वयोवृद्ध टेकनाथ भण्डारी खुशीले भक्कानिनुभएको थियो । रुद्र गौरी ओली प्रतिष्ठानले भण्डारीलगायत चार शारीरिक अशक्तलाई ह्वीलचियर प्रदान गरेको थियो ।

मेचीनगर–१३ दुहागढीमा रहेको लुना मल कारखानामा २३ वर्षअघि कार्यरत रहँदा मेसिन दुर्घटनामा परी स्थानीय ६२ वर्षीय हेमलाल सापकोटाले दाहिने हात गुमाउनुपरेको थियो । आज उहाँले कृत्रिम हात लगाउन पाउनुभएको छ ।

नेपालमा आएर कृत्रिम हातखुट्टा नि:शुल्क वितरण गर्न पाएकोमा नारायण सेवा संस्थान भारतका प्रतिनिधि हरिप्रसाद लड्डाले खुसी प्रकट गर्नुभएको छ । उहाँले मानवीय आधारमा संस्थानले हालसम्म चार लाखभन्दा बढी मानिसलाई कृत्रिम हातखुट्टा वितरण गरिसकेको जानकारी दिनुभयो ।

कृत्रिम हातखुट्टा बैंक स्थापना

ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्वीलचियर र वैशाखीको बैंक स्थापना गरेका छन् । हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताउनुभयो ।

हालसम्म बैंकलाई सयौँ दाताले ह्वीलचियर र वैशाखी सहयोग गरिसक्नुभएको छ । दाताहरूमा वैदेशिक रोजगारीमा गएका र विदेशमै बसोबास गर्दै आउनुभएका नेपाली धेरै छन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानवीय सेवालाई मानिसले कोरेको राष्ट्रको सीमाले नछेक्ने उदाहरणको रूपमा भारतको नारायण सेवा संस्थानले नेपालमा आएर कृत्रिम हातखुट्टा वितरण गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पुर्‍याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । बाहुनडाँगीमा कृत्रिम हातखुट्टा निर्माण गर्ने कारखाना सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरौलाले बताउनुभयो । रासस