३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई



अ+ अ-

सुन्दरहरैँचा । तेह्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ ।

इटहरी रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

दोस्रोपटकका लागि लगातार विजेता रहेको सगरमाथा युथ क्लबका लागि पेनाल्टीमा विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गर्न सफल भए ।

त्यसैगरी चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिङ्क ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोलपोष्ट बाहिर गयो । सुरुमा दुवै टिमका ५–५ जनाले प्रहार गर्दा सबैको गोल भएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोजको प्रहार जालीबाट बाहिरिएपछि गत वर्षको विजेता सगरमाथाले उपाधि उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद रु १० लाखका साथै ट्रफी र मेडल हात पारेको छ । साथै उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेर चित्त बुझायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की घोषित भए । उनले नगद रु एक लाख र मेडल पाए । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मौसम लिम्बू घोषित हुँदै नगद रु १० हजारसहित मेडल हात पारे ।

प्रतियोगितामा वेष्टकोच सगरमाथाका याम गुरुङ घोषित भए । उनले रु २० हजार र मेडल पाए । खेलमा आयोजक क्लबका तर्फबाट उदयीमान खेलाडी आशिष राई घोषित भए । उनले रु २० हजार पाए । साथै उत्कृष्ट गोलकिपरमा सगरमाथाका देव लिम्बू घोषित हुँदै रु २० हजारका साथमा मेडल हात पारे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागिता जनाएका थिए ।