२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो



अ+ अ-

पोखरा । फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छाँै, अब समस्या समाधान हुन्छ ।”

उहाँले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अहिले पुराना डुङ्गा व्यवस्थापनका लागि दैनिक १०/१२ जना डुङ्गा चालक र डुङ्गाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुङ्गा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ ।

उहाँले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिनुभयो । योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा सङ्गठनले काम गरेको पनि उहाँको भनाइ छ ।

स्थानीय डुङ्गा चालक एवम् सङ्गठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुङ्गा सञ्चालित छन् । आठ घाटबाट सञ्चालित डुङ्गामध्ये बाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झन्डै दुई सय बढी डुङ्गा मन्दिर पुग्ने गर्दछन् ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिनुभयो । व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताउनुभयो । उक्त मुख्य स्थानमा सरसफाइका लागि दुईजना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उहाँको भनाइ छ । रासस