७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजल र रजिन पनि अस्ट्रेलिया जाँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्यद्वय सुजल श्रेष्ठ र रजिन धिमाल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

उनीहरु बिहीबार राति १२ः३० बजे मलेसियन एयरवेजमार्फत मलेसियाको राजधानी क्वालालमपुर हुँदै अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्दैछन् । दुवैले मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै आएका थिए । सुजल मछिन्द्रका कप्तान समेत हुन् ।

विंगर सुजलले सन् २०११ मा भुटानविरुद्ध खेल्दै नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सुजलले नेपालका लागि ३७ खेलमा तीन गोल गरेका छन् ।

उनले सन् २०१७ नोभेम्बर ७ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी समेत गरेका थिए ।

यस्तै, सन् २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपाली सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका डिफेन्डर रजिनले नेपालका लागि १० खेल खेलेका छन् ।

गत महिना मात्रै प्रभावशाली मिडफिल्डर सुनिल बल पनि अष्ट्रेलियातर्फ गएका थिए । पछिल्ला एक वर्ष यतामात्रै एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी अष्ट्रेलिया पलायन भएसँगै नेपाली टिममा अनुभवि खेलाडीको अभाव खड्किएको छ ।