• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ

राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न



काठमाडौँ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो ।

शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय हुनुभयो भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गर्नुभयो ।

यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो भने नेपाली सेनाको टुकडीले उहाँलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो ।

समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ । कार्यक्रममा घोडेजात्राको इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो ।

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो ।

घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग हुँदै आएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रिगणलगायत विशिष्ट महानुभाव उपस्थित हुनुहुन्थ्यो ।

संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि घोडेजात्रा हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा सहभागी विशिष्ट पाहुनाहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो ।

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०, दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ ।

उक्त समारोह हेर्न टुँडिखेल वरपर नरनारीको बाक्लो उपस्थिति थियो भने नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । घोडे जात्राका अवसरमा टुँडिखेलभित्र घोडाका ठूला–ठूला आकृतिसहितका फ्लेक्स बोर्ड राखिएको थियो । रासस