काठमाडौं । प्रयाङ्कको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिने कसुरमा नेपाली प्रयाङ्कस्टर युट्युब च्यानलका सञ्चालक आकाश सेडाई पक्राउ परेका छन् ।
उनलाई काठमाडौं भोटाहिटी प्रहरी प्रधान कार्यलय साईबर ब्युरोले सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरु गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो युट्युब च्यानलमा राख्ने गरेको कसुरमा पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले जानकारी दिएका हुन् ।
प्रयाङ्कस्टर आकाश सेडाईको स्थाई ठेगाना झापा विर्तामोड न.पा. वडा नं. ४ भएपनि उनी हाल भक्तपुर जिल्ला कौशलटार बस्दै आएका थिए ।
२७ वर्ष उमेरका प्रयाङ्कस्टार आकाश सेडाईलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट हिजो (मंगलबार) प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार ७ (सात) दिन म्याद थप गरी अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।