• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

माओवादी एकता प्रयासमा धक्का !



विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए।

दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ। कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो। यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए। नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए।

स्रोतले भने एकआपसमा कुरा मिल्न नसक्दा अन्तक्र्रिया कार्यक्रम स्थगित भएको दाबी गर्दै यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बतायो। दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा परेपछि विभिन्न समूहमा विभक्त पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कसरतमा लागेका थिए। तर दुईवटा संयुक्त कार्यक्रम गर्न नपाउँदै उनीहरूको प्रयासमा धक्का पुगेको स्रोतले बतायो।

मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। फागुन २३ गते बसेको माओवादीका आठ घटकको बैठकले शान्तिप्रक्रियालाई टुंगो लगाउने विस्तृत शान्तिसम्झौतालाई नै धरापमा पार्ने काम हुन थालेको भन्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। त्यसपछि २६ गते बसेको दोस्रो बैठकले संयुक्त पत्रकार सम्मेलन र संक्रमणकालीन न्यायका विषयमा नागरिक अगुवासँग अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। तर संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत गरिने विज्ञप्तिको मस्यौदा भाषामा कुरा नमिलेपछि मोहन वैद्य, धर्मेन्द्र बास्तोला र गोपाल किराती अनुपस्थित भएका थिए।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा तयार मस्यौदालाई प्रधानमन्त्री दाहालले आफूअनुकूल बनाएपछि वैद्य, किराती र बास्तोला चिढिएका हुन्। ‘प्रधानमन्त्री दाहालले महराले बनाएको मस्यौदा संशोधन गरेको भन्दै उहाँहरू असन्तुष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो। तर वैद्य, किराती र बास्तोलाले पत्रकार सम्मेलनमा अनुपस्थित हुनुको कारण खोलिसकेका छैनन्।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, बास्तोला नेतृत्वको नेकपा बहुमत र किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले मंगलबारका लागि तय गरिएको कार्यक्रममा पनि उपस्थित हुन नसक्ने जानकारी नेकपा माओवादी केन्द्रलाई गराएका थिए।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल सहभागी नभएको विषयमा पनि वैद्यलगायतले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेललगायतका नेता उपस्थित थिए। पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल, वैद्य, किराती र बास्तोला सहभागी नभएपछि त्यसको औचित्यमा प्रश्न उठेको बताइएको थियो। नागरिक दैनिक