४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

सारङ्गीको कीर्तिपुर घराना

सारङ्गीको कीर्तिपुर घराना
अ+ अ-

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसक्नुभयो ।

आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले बिताउन खोजेको साङ्गीतिक लय । देशका विभिन्न भागमा प्रेम, वीरता, वेदनाका कथा बोक्ने सारङ्गीको धुनलाई गन्र्धवहरूले निकै अघिदेखि जोगाउँदै आएका छन् । यही सङ्गीत परम्पराको डोरोलाई अहिलेको समयसँग समेत जोडेर व्यापक बनाउने ठूलो अभियान छ नेपालीको ।

यसै अभियानलाई ‘सारङ्गीको कीर्तिपुर घराना’ नामबाट अगाडि बढाउँदै हुनहुन्छ श्याम नेपाली । घरानाका रूपमा अघि बढाउने निष्कर्षमा पुग्नुको कारक भने फ्रान्सलगायत संसारका विभिन्न स्थानमा पुग्दा भेटिएका आफ्ना पुर्खाको सङ्गीत साधनासम्बन्धी सामग्री हुन् । सारङ्गीलाई चिनाउन विश्वका विभिन्न देश पुगेका श्यामलाई कतिपय स्थानमा पुग्दा त्यहाँका कतिपय संस्थाले उल्टो उहाँलाई आफ्ना पुर्खाको योगदानबारे चिनाइदियो । आफ्ना हजुरबुबाले राजा महेन्द्रसामु प्रस्तुत गरेको सारङ्गी वादन अरर्बाजा र त्यसैताका यसबारे गरेका थुप्रै खोज श्यामले फ्रान्सको लुभ्र सङ्ग्रहालयमा पाउनुभयो । नर्वे घुम्ने बाबु रामशरण नेपाली र कीर्तिपुरमै लामो समय बिताएका झलकमान गन्र्धवका बारेमा ओस्लो विश्वविद्यालयमा गरिएको शोधपत्र भेट्नुभयो ।

त्यस्ता कुरा भेटेपछि श्याम नेपाली आफ्ना पुर्खाले सयौँ वर्ष लगाएर विकास गरेको मौलिक सारङ्गी धुनलाई सकेसम्म उस्तै रूपमा संरक्षण गर्नुपर्ने निष्कर्षमा पुग्नुभयो । “हजुरबुबा र बाले बजाएका धुनभन्दा अहिलेका धुन निकै फरक हुँदा रहेछन् । उनीहरूकै सन्तति मेरोसमेत सारङ्गी वादनमा आधुनिकताले छोएको कुरा उहाँहरूको वादन राम्ररी सुन्न थालेपछि थाहा पाएँ”, उहाँको अनुभूति छ ।

पुर्खाले सङ्गीतमार्फत समाचार भन्थे । आजका सञ्चारमाध्यमले जसरी कर्खामार्फत कुनै घटनाको कहिले राजाका कामको वयान त कहिले जनताका वेदना, कहिले युद्धको विवरण सारङ्गी रेट्दै घटनालाई प्रस्तुत गर्ने जमाना थियो त्यो । त्यसलाई खोजेर जगेर्ना गर्नुपर्ने दायित्व सङ्गीतप्रेमीहरूको भएको उहाँको भनाइ छ । तर यस्तो खोजबिनको काम धेरैको प्राथमिकतामा नपर्ने तर कसैले मेहनतपूर्वक खोजेर ल्याएको वस्तुलाई विभिन्न ढङ्गले प्रयोग गर्नचाहिँ खोज्ने प्रवृत्ति रहेको उहाँ बताउनुहुन्छ । “बोटबिरुवा रोप्न, गोडमेल गर्न र मल हाल्न धेरै जना अघि नै सर्दैनन् । फल पाकेपछि भने सबैलाई त्यही मन पर्छ”, उहाँ भन्नुहुन्छ ।

जे होस्, आफ्नो क्षेत्रबाट हुनसक्ने जति खोज गरेर कीर्तिपुर घरानाको विकास गर्ने र त्यसको पहिचानलाई अगाडि बढाउने सोच उहाँको छ । यसका लागि आफू र सङ्गीतमै लागेका छोरा प्रिन्सले पहल गरिरहेको पनि उहाँले बताउनुभयो । छोराले पुर्ख्यौली सङ्गीत शैलीलाई आनीछोइङ डोल्मा र न्ह्यू बज्राचार्यसँगको सहकार्यबाट केही आध्यात्मिकपन दिँदै जानुभएको छ ।

त्यसो त सारङ्गीलाई ‘ए यो त गन्धर्व बाजा हो’ भन्ने र हरेक दिन त्यस्तै टिप्पणीबाट होच्याउने र निरुत्साहित गर्ने प्रवृत्ति छ । आफू काठमाडौँवासी हुँदासमेत त्यस्तो व्यवहार हुन्छ भने गाउँतिर त झन् कस्तो होला रु उहाँको प्रश्न छ । गन्धर्व गीत भनेर हेपिएपछि राम्रा धुनहरू भने चोरीसमेत हुने गरेको अनुभव उहाँको छ । “ए दाजु न समाऊ नारीमा।।।, भन्ने गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारङ्गी रेटेरै गरेका थिए”, उहाँको भनाइ छ । सम्पदाका रूपमा रहेका मौलिक धुनलाई संरक्षण गर्नेभन्दा पनि पाएमा त्यसका व्यापारिक उद्देश्यका साथ प्रयोग गर्ने प्रवृत्ति हावी रहेको उहाँको निष्कर्ष छ ।

सारङ्गीलाई चिनाउन संसारका विभिन्न ठाउँ पुग्ने क्रममा हार्डवर्ड विश्वविद्यालयमा एक वर्ष बिताउनुभयो श्याम नेपालीले । विश्वविद्यालय र त्यसअन्तर्गतका कलेजहरूमा नेपाली मौलिक बाजा, यसको धुनबारे फरक पृष्ठभूमिबाट आएका र नेपाल कहिल्यै नदेखेका लाई समेत सारङ्गीबारे बताउने अवसर पाउनुभयो । आफ्नो त्यही अभियानमा छोराहरूको समेत साथ पाउनुभएको छ ।

आफूले विकास गर्न र फैलाउन चाहेको कीर्तिपुर घराना भने सयौँ वर्ष अघिदेखि कीर्तिपुरमा बसेर पुर्खाले विकास गरेको धुनलाई सकेसम्म त्यसको मौलिकता बचाएरै आधुनिक युगसँग परिचित गराउने अभियान भएको भनाइ उहाँको छ । “पोखरा, प्युठान र भोजपुरजस्ता ठाउँमा बज्ने सारङ्गीभन्दा फरक छ, कीर्तिपुरको सारङ्गी वादन”, उहाँ थप्नुहुन्छ । धुनमात्र नभई त्यसले बोक्ने शब्दसमेत अर्थपूर्ण र इतिहास बोक्ने खालका छन् । तिनलाई दोहोरीको भाकाजस्तो आफूले चाहेको शब्द हालेर गाउन नसकिने उहाँ बताउनुहुन्छ ।

प्रकृति र इतिहास, पोखरामा बज्ने सारङ्गीको धुनमा गाइने गीत र कीर्तिपुरमा आफ्ना बाबुबाजेले गाउने गरेको गीतमा मुख्य दुई भिन्नता पाउनुहुन्छ श्याम नेपाली । आफ्ना पुर्खाले सारङ्गी रेट्दै गाएको गीतमा तत्कालीन शासक र व्यवस्थाभित्रका कथाव्यथा बढी भेटिने र पोखरातिरका गीतमा भने प्रकृतिको वयान भेटिने पनि उहाँ बताउनुहुन्छ । गन्धर्वहरूलाई गाउनका लागि निश्चित स्थान तोकिदिने र त्यसवापत जग्गा जमिन दिने चलनसमेत कुनै बेला थियो । त्यतिबेला छोराबाट नाति, नातिबाट पनाति हुँदै पुस्तान्तरण हुँदा एउटा विशेष शैलीको सारङ्गी वादन सिर्जना भएको छ । त्यसैलाई कीर्तिपुर घरानाको नाम दिइएको पनि उहाँ बताउनुहुन्छ ।

उतिबेला घराना नभनिए पनि आफ्नो परिवारले बजाउँदै आएको सारङ्गी वादन थुपै लोकप्रिय गीतमा प्रयोग भएको जानकारी उहाँ दिनुहुन्छ । उदाहरणका लागि श्यामले बजाउनुभएको कर्ण दासको ‘पुरानो डुङ्गा।।।पानीको छाल।।।”, बोलको गीतमा प्रयोग भएको सारङ्गीको धुन । आनीछोइङको फूलको आँखामा।।।।फूलै संसारमा पनि सारङ्गी प्रयोग भएको छ । “त्यस्ता थुप्रै गीतमा कीर्तिपुर घरानाको धुन बजेको छ”, उहाँ भन्नुहुन्छ । त्यतिमात्र नभई विभिन्न एफएमका जिङ्गल र एनसेलको धुनमा समेत कीर्तिपुर घरानाको सारङ्गी बजेको छ ।

आफूभन्दा अघि पिताले त्यतिबेलाको चर्चित लोकगीत ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास ।।।’ बोलमा पनि कीर्तिपुर घराना बजेको छ । एउटा परिवारले पुस्तौँ सङ्गीत अभ्यास गर्दा विकास भएको शैलीलाई घरानाको रूप दिएर नेपाली संस्कृतिमा एउटा आयाम थप्न खोजेको उहाँको भनाइ छ । यसलाई अगाडि बढाउन आफूले सकेसम्म प्रयास गर्ने उहाँ बताउनुहुन्छ । रासस