• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’



ताप्लेजुङ । धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् ।

हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् ।

मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् ।

“विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर भएका र असहाय नागरिकको उद्धार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । पाथीभरा क्षेत्रमा यसअघि पनि सरसफाइको काम गरेको उहाँको भनाइ छ ।

डस्टबिन व्यवस्थापनमा फुङ्लिङ नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग गरेको थियो । मन्दिर जाने मार्गमा प्लाष्टिकका वस्तु, पेय पदार्थका खोल तथा मोजा यत्रतत्र देखिन थालेकाले सरसफाइ गरिएको अभियान्ता प्रकाश दाहालले बताउनुभयो । उहाँका अनुसार विभिन्न पेसा व्यवसायी र वैदेशिक रोजगारमा गएका युवाको सहयोगमा डस्टबिन खरिद गर्ने गरिएको छ ।

तीर्थयात्रीले डस्टबिनमा फोहर फाल्नुको सट्टा जथाभावी फाल्ने गरेकाले फोहर बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । पाथीभरा मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आउने जाने गर्दछन् । रासस