• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’



ताप्लेजुङ । धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् ।

हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् ।

मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् ।

“विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर भएका र असहाय नागरिकको उद्धार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । पाथीभरा क्षेत्रमा यसअघि पनि सरसफाइको काम गरेको उहाँको भनाइ छ ।

डस्टबिन व्यवस्थापनमा फुङ्लिङ नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग गरेको थियो । मन्दिर जाने मार्गमा प्लाष्टिकका वस्तु, पेय पदार्थका खोल तथा मोजा यत्रतत्र देखिन थालेकाले सरसफाइ गरिएको अभियान्ता प्रकाश दाहालले बताउनुभयो । उहाँका अनुसार विभिन्न पेसा व्यवसायी र वैदेशिक रोजगारमा गएका युवाको सहयोगमा डस्टबिन खरिद गर्ने गरिएको छ ।

तीर्थयात्रीले डस्टबिनमा फोहर फाल्नुको सट्टा जथाभावी फाल्ने गरेकाले फोहर बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । पाथीभरा मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आउने जाने गर्दछन् । रासस