२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्कीद्वारा रुसमाथि थप प्रतिबन्धको माग



अ+ अ-

एजेन्सी । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताउनुभएको हो ।

शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको जनाउँदै युक्रेनी सेनाले पूर्वी डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते भएका बताएको छ । सेनाका अनुसार औद्योगिक पूर्वी क्षेत्र र उत्तरपूर्वमा रुसी आक्रमण केन्द्रित थिए ।

देशमा युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनमा हार्नुपर्ने बताउँदै आउनुभएको छ । उहाँले रुसी सेनालाई परास्त गर्न सकिने उल्लेख गर्दै थप प्रतिबन्धमा जोड दिनुभएको छ । उहाँको अनुरोधसँगै संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोलाई दण्डित गर्न प्रतिबन्धका नयाँ उपायहरू घोषणा गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले रुसको आणविक निगम रोसाटोम र रूसी आणविक उद्योगविरुद्ध निर्णायक कदम चालिनुपर्ने तथा सैन्य र बैंकिङ दबाब बढाउनुपर्ने बताउँदै आउनुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोसाटोम र रक्षा मन्त्रालयले आवश्यक परेम आणविक हतियार परीक्षण पुन: सुरु गर्न तयार रहेको अभिव्यक्ति दिएपछि उहाँले कठोर प्रतिबन्धको माग गर्नुभएको हो ।

अमेरिकाले आणविक हतियार विकास गरिरहेको र शीतयुद्धको अन्त्यपछि लागू भएको विश्वव्यापी परीक्षण प्रतिबन्धअन्तर्गत प्रतिबन्धित आणविक परीक्षण गर्ने योजनामा अमेरिका रहेको राष्ट्रपति पुटिनले आरोप लगाउनुभएको छ । “यदि अमेरिकाले परीक्षण गर्छ भने, हामी पनि गर्नेछौं,” उहाँले भन्नुभएको छ ।

विश्वको आधाभन्दा बढी अर्थतन्त्र प्रतिनिधित्व गर्ने ३० भन्दा बढी देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् तर रुसी अर्थतन्त्र, व्यापार र कलकारखानामा अपेक्षाकृत ठूलो झट्का लागिसकेको छैन । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले पछिल्लो अमेरिकी प्रतिबन्धलाई विवेकहीन भन्नुभएको छ । उहाँले आफ्नो देश आर्थिक र राजनीतिक दबाबमा बाँच्न अभ्यस्त भएको उल्ल्ेख गर्दै विगतका प्रतिबन्धबाट विश्व बजारलाई धेरै हदसम्म हानी भएको बताउनुभयो ।