१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी



फाईल फोटो
अ+ अ-

लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।

विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष रु नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए ।

कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट रु १५ करोड आम्दानी गरेका थिए । विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले रु १२ करोड आम्दानी गरेका थिए । विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताउनुभयो । दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उहाँको भनाइ छ । उहाँले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो ।

गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।” सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् ।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भन्नुभयो, “बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।”

मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उहाँले सुनाउनुभयो । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । रासस