२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई दुबई लैजान पाउनुपर्ने भन्दै क्यानले राखेपलाई पठायो पत्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ । सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै पत्र पठाइएको हो ।

क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ । योसँगै सन्दीपको तर्फबाट समेत खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी पनि भएको छ ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता सराजे घिमिरेले रिट दायर गर्न लागेका हुन् ।

नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशपछि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको जारी आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए ।

अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो । उक्त सर्तअनुसार नै उनी खेल्नका लागि नेपालबाहिर जान पाउने छैनन् । त्यहि सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै रिट दायर गर्न लागिएको हो ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपको प्रदर्शन उच्च रहेको थियो । घरेलु मैदानमा भएको लिग २ मा चारै खेलमा सन्दीपले विकेट लिएका थिए । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।