११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

फोहरमा पनि सुन फल्छ !

फोहरमा पनि सुन फल्छ !
अ अ+ अ-

देउखुरी । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो ।

भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आउनुभएको छ । उहाँलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ ।

उहाँले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उहाँले सुनचाँदी पसल अगाडि सडकको धुलो बढार्नुहुन्छ । सडक किनाराको नालीको फोहर पनि उठाएर भाँडोमा राखेर लैजानु हुन्छ । सडकको धुलो र नालीको फोहर नजिकैको फोहर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुनुहुन्छ । धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्नु हुन्छ । उहाँको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आउनुभएको छ । “हामी यहाँ दुई/चार महिना जति यही काम गरेर बस्छौँ”, उहाँले भन्नुभयो, “एक सिजनमा करिब एक/डेढ तोला सङ्कलन हुन्छ । त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं ।”

बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन् । यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन् । बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन् । कोही भने सडक छेउको नालीको फोहर जम्मा गर्छन् ।

त्यही धुलो माटो कराहीमा राखेर नजिकैको फोहर पानी बग्ने घोलामा लगेर मज्जाले चालेर मसिनो कण निकालेर सङ्कलन गर्छन् । भर्खरै बिहान सुनचाँदी पसल अगाडिको फोहर बढारेर पानीमा धोई बालुवा माटो चालेर एक मुठीजति धुलो निकालेका गणेशले भन्नुभयो, “अब यसलाई प्रशोधन गरेर सुन निकाल्छौँ, अनि पसलमा लगेर बिक्री गर्छौँ ।”

बुटवलका मुख्य बजार क्षेत्रका सुनचाँदी पसल अगाडि सडक बढारेर सुन खोज्ने काममा लागेका भारत मध्यप्रदेशका राज मुराइको काम पनि दुई महिनादेखि यस्तै चलिरहेको छ । उहाँसँगै १० जनाको समूह यही कामका लागि भारतबाट बुटवलमा आएको हो । हरेक वर्ष तीन÷चार महिना यसै कामका लागि उनीहरु बुटवलमा बिताउने गर्छन् । सुन पसल अगाडिको धुलो र नालीको फोहर जम्मा गरेर पानीमा धँुदा मसिनो बालुवा निकालेर प्रशोधन गर्दा सुन निस्कने उहाँ बताउनुहुन्छ ।

भारतको मध्यप्रदेशबाट आएका यिनीहरु फिरन्ते समुदाय हुन् । यिनीहरु समूह बनाएर परिवारसहितै हिँड्ने र नेपाल तथा भारतका यस्तै ठूलाठूला सहरमा महिनौँ बिताउने गर्छन् । यस अवधिमा उहाँले दैनिकजसो सुन चाँदी पसल बाहिर सडक नालीबाट निस्केको माटो, बालुवा सङ्कलन गरेर नजिकैको घोलामा धोएर प्रशोधनका लागि छनोट गर्दै आउनुभएको छ । यसरी काम गर्दा दैनिकजसो एक÷दुई लालसम्म सुन फेला पर्ने गरेको मुरइ बताउनुहुन्छ । “हामी यहाँ दुई÷तीन महिना बस्छौँ । त्यसपछि आफ्नै देश फर्कछौँ”, उहाँले भन्नुभयो, “यहाँ बसुञ्जेल जेजति सुन निस्कन्छ, सबै यहीँका सुनचाँदी पसलमा बेचेर फर्कंने हो ।”

मध्यप्रदेश जवलपुरकै करिब ३५ वर्षीय विशुवा सोन्जारीको ५० जनाको समूह पनि बुटवलका मुख्य सडक, गल्ली र नालामा सुन खोज्न व्यस्त छ । बुटवलमा करिब एक महिनाको बसाइपछि स्वदेशमै फर्किएर यही काममै लाग्ने उहाँ बताउनुहुन्छ । “पहिले जस्तो धेरै सुन पाउँदैन”, उहाँले भन्नुभयो, “मान्छे पनि धेरै भए, सुन पनि महङ्गो भयो ।”

सुन पसलको अगाडि प्रायः सुनका गरगहना बनाउने कालीगढले गहना बनाउँदा सुनलाई रेट्ने र थिच्ने काम गर्दा सुनका मसिना कणहरु कपडामा टासिने र उनीहरु आवतजानत गर्ने र फोहर बढारेर बाटोमा फाल्ने गर्छन् । माटोमा ती कणहरु खस्ने भएकाले सडक नालीको माटो उठाएर पानीमा पखालेर सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी सङ्घ बुटवलका पूर्वअध्यक्ष एमबी विश्वकर्मा बताउनुहुन्छ ।

सुन कालीगढ र व्यवसायी आवतजावत बढी हुने ठाउँमा बढालेर जम्मा गरेको धुलो धोएर प्रशोधन गरी सुन निकाल्ने गरेको उहाँ बताउनुहुन्छ । यसरी प्रशोधन गर्दा हरेक व्यक्तिले प्रत्येक दिन दुई÷तीन लाल सुन जम्मा गर्छन् । कसैकसैले त दिनमै सात÷आठ लाल पनि जम्मा गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

सुनचाँदी व्यवसायीले सुन गहना बिक्री गर्दा जर्ती काट्ने बराबरको यिनीहरुले धुलोबाट सुन निकाल्ने गरेको व्यवसायीहरुको भनाइ छ । विश्वकर्मा भन्नुहुन्छ, “काम गर्ने क्रममा हाम्रो शरीरमा सुनका टुक्रा, मसिनो धुलो टासिने र हिँडडुल बढी हुने ठाउँमा झर्ने भएकाले उनीहरुले त्यस वरपरको धुलो बढारेर पानीमा धोएर सुन निकाल्छन्”, उहाँले भन्नुभयो, “मेरो घरको भित्र कालीगढले काम गर्ने कोठा बाहिर गल्ली, घर बाहिरको नालीसमेत सफा गरेर माटो सङ्कलन गरेर लैजान्छन् र सुन निकाल्छन् ।”

उनीहरुले प्रशोधन गरेर निकालेको सुन स्थानीय बजारमा सुन व्यवसायीलाई नै बजार मूल्यमै बिक्री गर्ने गर्छन् । “उनीहरुले प्रशोधन गरेर निकालेको सुन गुणस्तरीय पनि हुने भएकाले बजारमा बिक्री गर्न कुनै समस्या छैन”, पूर्वअध्यक्ष विश्वकर्माले भन्नुभयो । भारत तथा नेपालका प्रमुख सहरमा सुन पसल भएका क्षेत्रमा यस्ता व्यक्तिलाई भेट्न सकिन्छ । सुन टल्कने र गह्रुङ्गो धातु भएकाले पानीमा सजिलै थिग्र्याउन सकिन्छ ।

बुटवलमा यसरी काम गर्नेहरु अधिकांश भारतको मध्यप्रदेश, आन्ध्रप्रदेश, उडिसा र राजस्थानलगायतका क्षेत्रबाट आउने गरेको पाइन्छ । बुटवल–५ अमरपथमा गण्डकी सुन चाँदी पसलका सञ्चालक तथा पूर्ववडाध्यक्ष तेजप्रसाद विकका अनुसार यही पेसा गरेर कतिपयले त बुटवलमै स्थायीरुपमा बसोबास गरेका छन् । उहाँले भन्नुभयो, “यो काममा दुःख पनि छ, त्यसैअनुसारको कमाइ पनि राम्रै हुन्छ ।”

बुटवल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गोकुल विश्वकर्माका अनुसार बुटवललगायत विभिन्न तथा ठूला सहरमा सुन चाँदीलगायत बहुमूल्य धातुका गरगहना बनाउने कालीगढ पनि अधिकांश भारतबाट नै आउने गरेका छन् । पछिल्ला समय स्वदेशी कालीगढको सङ्ख्या पनि बढ्दै गएको छ । रासस