१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन



अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो ।

नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश सरकार, १ नं प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत २१ गते केन्द्रको शुभारम्भ गर्नुभएको थियो । केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको चार सय ३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जबकी, कम्पोष्ट प्लान्टबाट प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

अर्थमन्त्रालयको विशेष अनुदान एवं प्रदेश सरकारको रु दुई करोड ७० लाख लागतमा निर्माण गरिएको प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको मूल्य प्रतिबोरा रु पाँच सय निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र बिक्री भएको जनाइएको छ ।

स्थापनाकालमा उत्पादित एक सय ५० बोरा प्राङ्गारिक मल नगरपालिकाको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियान अनुसार उत्पादन गरिएका अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको जनाइएको छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठको भन्दा कैयौँ गुणा मलिलो भए पनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङुगाबहादुर विश्वकर्माले बताउनुभयो । “कम्पोष्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेको छु । गोठको गोबरभन्दा कैयौँ गुणा राम्रो छ”, उहाँले भन्नुभयो, “तर, यसको महत्वबारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गाह्रो हुने अवस्था आउँथ्यो ।”

उद्घाटन अघि र केही समयपछिसम्म सामान्य मात्रामा प्राङ्गारिक मल उत्पादन हुँदै आएको प्लान्टमा करिब दुई वर्षदेखि उत्पादन ठप्प छ । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा बायोग्यास प्लान्टबाट नियमित प्राङ्गारिक मल उत्पादन नभएको स्थानीय बासिन्दाको आरोप छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मललाई किसानले आफ्नो गोठको मलसरह ठानेकाले नियमित उत्पादन गर्न नसकिएको नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले बताउनुभयो । “उद्घाटनलगत्तै एकलट मल उत्पादन भयो । परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ तर, बजार मूल्य बढी भयो भनेर किसानले रुचाएका छैनन् । नियमित खपत नभएपछि धेरै मल उत्पादन नगरिएको हो”, उहाँले भन्नुभयो, “अब निजी संस्था वा साँझेदारी संस्थामार्फत सञ्चालन गर्ने गरी कार्यविधि तयार पारेका छौँ । मूल्यका विषयमा पनि पुनः विचार हुन्छ ।”

संघीय सरकारको विशेष अनुदानस्वरुप प्राप्त भएको रु तीन करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्ट निर्माणमा रु एक करोड ८५ लाख खर्च भएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले जानकारी दिनुभएको छ । अन्य रकम दुई वटा ट्र्याक्टर खरिद, दिक्तेलबजारमा ‘डस्बिन’ राख्न तथा वडा नं ५ लफ्याङस्थित डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको जनाइएको छ ।

यस्तै, कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान रु ५० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट रु ३५ लाख खर्च भएको जनाइएको छ । राज्यकोषको यति धेरै रकम खर्च भएको कम्पोष्ट मल तथा बायोग्यास उद्योग उपयोगविहीन भएपछि किसान समस्यामा परेका छन् ।

कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्टसँगै अघिल्लो कार्यकालमा नगरभित्र निर्माण गरिएका दर्जन बढी भौतिक संरचना उपयोगविहीन भेटिएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईले बताउनुभयो । “कतिपय अनावश्यक संरचना पनि बनेका रहेछन्”, उहाँले भन्नुभयो, “नगरको लगानीमा बनेकाले सबै भौतिक संरचनालाई प्रयोगमा ल्याउने विकल्प खोजी गर्ने काम भइरहेको छ ।”

नगरपालिकाले विभिन्न निकायसँगको साझेदारीमा निर्माण गरेको करोडौँ लगानीको एकीकृत बस्ती, पेन टावर, आँखापोखरी, विभिन्न पार्क ९उद्यान० लगायतका भौतिक संरचना उपयोगविहीन बनेका छन् । कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन् । केदार मगर/रासस