• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

साफ च्याम्पियनसिप: नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै



काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ ।

नेपालको लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । फाइनल पुग्नका लागि नेपालले भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।

नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

भारत ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।

राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने भुटान दुई खेलमा अंक विहीन रहदै उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।