२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।

विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृतिक बासस्थानमा छाडेको छ । “यो भन्दा पहिला राप्ती नदीमा नौ सय ७२, नारायणी नदीमा चार सय १९, कालीगण्डकी नदीमा ३५, सप्तकोसी नदीमा एक सय १५, कर्णाली नदीमा ४१ र बबई नदीमा एक सय १० गरी जम्मा एक हजार छ सय ९२ गोही हामीले छाडिसकेका छौँ”, उनले भने, “बिहीबार छाडिएको २० गोहीसहित अहिलेसम्म हामीले एक हजार सात सय १२ गोहीलाई प्राकृतिक बासस्थानमा छोडेका छौँ ।”

तिवारीले सङ्कटापन्न अवस्थाका गोही प्रकृतिक बासस्थानमा छाडेपछि उनीहरूको अवस्थाबारे निकुञ्जले अनुगमन गर्ने गरेको भए पनि राष्ट्रियस्तरबाट अनुगमन हुनुपर्ने बताए । “घडियाल गोहीले लामो दूरी विचरण गर्ने गरेको हामीले पाएका छौँ”, तिवारीले भने, “नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उनले बताए ।

घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै पाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र न्यौपानेले बताए । प्राकृतिक बासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने गरेपछि निकुञ्जले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरेको उनको भनाइ छ ।

यसरी हुर्किएका गोहीलाई छ वर्षको उमेर भएपछि प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको आचार्यले बताए । यस वर्ष पनि सयभन्दा बढी घडियालका बच्चा प्राकृतिक बासस्थानमा छाड्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ । रासस