• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ?

आकर्षक तलबको लोभमा कुवेत पुर्‍याइ मानसिक र शारीरिक यातना दिने दुई जना पक्राउ



सांकेतिक तस्बिर

काठमडौँ । आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।

ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा युएई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।

हाल कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र सो कुराको रेकर्ड पीडितका श्रीमान्लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ ।

उनीहरुले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्यूरोले जानकारी दिएको छ । रासस