• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा



नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

चोरी शिकारीबाट गैँडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले निकुञ्जको सुरक्षा मजबुत पार्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । रातको समयमा पनि सेनाहरुले सुरक्षा पहरा दिन थालेपछि संरक्षणसँगै मानवीय अन्य अप्रिय घटना रोकिने भन्दै नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा भने खुसी छन् । “माघको ७ गते रातिदेखि नै सेनाको गस्ती टोली गाउँमा आउन थालेका छन्” नवलपुरको मध्यबिन्दु–३ का जीवाखर पौडेलले भन्नुभयो, “रातिमा समेत सेनाको गस्ती हुन थालेपछि हामी ढुक्कसँग सुत्नसक्ने अवस्थामा पुग्यौँ ।”

सेनाको गस्तीले जङ्गली जनावरको सुरक्षासँगै गाउँमा हुने चोरी तथा अन्य अप्रिय घटना पनि रोकिने पौडेलको विश्वास छ । “सेनाले गस्ती बढाएपछि रातिमा हुने चोरीसहितका धेरै घटना रोकिन्छन्”, पौडेलले भन्नुभयो, “रातिमा खोरबाट बाख्रा चोरी हुने तथा घरभित्रैबाट सामान चोरी हुने घटना पनि रोकिन्छन् ।” यसअघि बाख्रा खोरमा थुनेर सुतेका स्थानीयको बिहान उठ्दा खोरबाट खसीबोका हराउने गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टमा खटिएका सुरक्षाकर्मीले यहाँ पहरा दिइरहेका छन् । मध्यबिन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले सेनाको गस्ती बढेसँगै रातिको समयमा हुने वन्यजन्तुको चोरी शिकारी तथा अन्य घटना रोकिने बताउनुभयो । “स्थानीय संरक्षणमा सचेत भएकाले दिउँसोको समयमा वन्यजन्तु चोरी शिकारीका घटना हुन पाउँदैनन्”, महतोले भन्नुभयो, “रातिको समयमा सेनाले गस्ती बढाएपछि वन्यजन्तुको चोरी शिकारी पनि कम हुन्छ ।

वन्यजन्तुको संरक्षणका लागि सेना र निकुञ्जसँगै मध्यवर्तीका बासिन्दाको भूमिका महत्वपूर्ण रहेको वडाध्यक्ष महतोले बताउनुभयो । “निकुञ्ज र सेना मिलेर गाउँगाउँमा युवालाई परिचालन गर्नेगरी समिति बनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “पहिले निर्माण भएका चोरी शिकारी नियन्त्रण अभियान अहिले निस्कियजस्तै भए, फेरि सक्रिय बनाएर संरक्षणमा जुट्नुपर्छ ।” वन तथा वन्यजन्तु अमूल्य सम्पत्ति भएका भन्दै वडाध्यक्ष महतोले यसको संरक्षणमा स्थानीयलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका गणपति प्रमुख सेनानी शशीकुमार कार्कीले तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको बताउनुभयो । “हामीले लामो समयसम्म जिरो पोचिङ राख्न सफल भएका थियौँ, एक्कासि माघ ६ गते नयाँ तरिकाले घटना भयो, त्यसले हामीलाई थप संवेदनशील बनाएको छ”, उहाँले भन्नुभयो, “हामीले सम्भावित घटना हुने ठाउँ पहिचान गरेर राति अस्थायीरुपमा पोस्ट स्थापना गरेर गस्ती गर्ने गरेका छौँ ।” सेनाले आवश्यकताअनुसार निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहभागी गराएर संयुक्त गस्ती गर्ने गरेको कार्कीको भनाइ छ ।

“मध्यवर्ती क्षेत्रका बासिन्दाबाट हामीलाई सूचना प्राप्त हुन्छ र सोहीअनुसार हामीले संयुक्त गस्ती बढाएका छौँ”, गणपति कार्कीले भन्नुभयो, “तस्करले नयाँ प्रविधि अपनाएर गैँडा मार्न थालेपछि त्यसको नियन्त्रणका लागि हामी थप सक्रिय भएर लागेका छौँ ।” माघ ६ गते भएको घटनाबाट गम्भीर भएर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी अगाडि बढेको कार्कीले बताउनुभयो ।

निकुञ्जमा सेनाले पैदल, साइकल, गाडी, हात्ती र डुङ्गाबाट नियमित गस्ती गरिरहेको गणपति कार्कीले बताउनुभयो । कार्कीका अनुसार निकुञ्जमा घटनाको अनुसन्धान र सुरक्षाका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने गरिएको छ । तस्करले गँैडा मारेपछि गस्तीमा कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी कार्यलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको एकल र निकुञ्ज प्रशासनसहितको संयुक्त गरी ५७ पोस्ट छन् । माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्ट नजिक नारायणी नदीका बगर क्षेत्रमा दुई गैँडा मृत भेटिएका थिए । मध्यबिन्दु नगरपालिका–२ नन्दपुरमा पर्ने सो स्थानमा स्थानीयको सूचनाको आधारमा घटनास्थल पुग्दा गैँडाको माउ तथा बच्चा मृतावस्थामा भेटिएका निकुञ्जले जनाएको छ ।

चार वर्षीय भाले बच्चा र १४ वर्षीय माउको मृत्युबारे अनुसन्धान गर्दा विद्युतीय धरापमा पारेर मारिएको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मृतावस्थामा फेला परेको गैँडाको खाग काटेर लगेका कारण पनि चोरी शिकारीबाट गैँडा मरेको पुष्टि भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ११ गैँडा मरेका छन् ।

मृत भेटिएकामध्ये आठ गैँडा कालगति, दुई गैँडा चोरी शिकारी तथा एउटा गैँडा बस्ती पस्ने क्रममा विद्युतीय धरापमा परेर मरेको निकुञ्जले जनाएको छ । सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । विसं २०७८ साउनपछि चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । रासस