काठमाडौँ । नेकपा (एमाले) संघीय सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँ सत्ता गठबन्धनबाट सभामुखका लागि साझा उम्मेदवार हुनुहुन्छ । उहाँको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन रहनु भएको छ ।
संघीय संसद् सचिवालयले सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकेको छ । मतदान बिहीबार हुनेछ ।
नेपाली कांग्रेसले भने सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुर्ने बताएको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने जनाइएको छ ।
पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो ।