५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
अ+ अ-

भोजपुर। भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ ।

किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्षखेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्बबराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उहाँले जानकारी दिनुभयो । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उहाँको भनाइ छ ।

कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ । रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उहाँले बताउनुभयो ।

“राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्”, उहाँले भन्नुभयो, “त्यसैले पछिल्लो समय रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढेको छ ।”

भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् ।

षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त हुने उहाँको भनाइ छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ ।

षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताउनुभयो । उहाँका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ । “बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन”, उहाँले भन्नुभयो, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।”

धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम रु एक लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् । व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सृजना भएको स्थानीय किसानको भनाइ छ ।

दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् ।

खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ हुँदै चीन र भारतसम्म पुग्ने गरेको छ । भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिको प्याउली, जरायोटार, सिक्रेटार तथा पौवादुङमा गाउँपालिकालगायत क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा खेती विस्तार हुने क्रम जारी छ ।

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभागमा रुद्राक्षखेती राम्रो हुने बताइन्छ । भोजपुरको भौगोलिक अवस्था तथा हावापानी रुद्राक्ष उत्पादनका लागि अनुकूल रहेकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझै धेरै रहेको जानकारहरूको भनाइ छ । रासस