काठमाडौं । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या वृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।
साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ ।
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।
साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन् ।
साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।
धार्मीक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मीक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।
साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मीक विश्वास छ ।
त्यस्तै प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ । (एजेन्सीको सहयोगमा)